इलाम, २७ मङ्सिर । नाकाबन्दीका कारण इन्धन र निर्माण सामग्री अभाव भएपछि २१ मेगावाट क्षमताका तीन वटा विद्युत् आयोजनाको काम ठप्प भएको छ ।
उत्तरी मावु गाविसमा निर्माणाधिन १० मेगावाट क्षमताको अप्परमाई हाईड्रोपावर प्रालिबाट उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न नसकिएको आयोजनाले जनाएको छ । इन्धन अभावका कारण प्रसारण लाइन निर्माणको काम प्रभावित भएको आयोजनाका निर्देशक सन्तोष प्रधानले बताउनुभयो । “इन्धन आपूर्ति सहज नहुञ्जेल काम ठप्प नै रहने भयो” उहाँले भन्नुभयो ।
विद्युत उत्पादनको तयारीमा रहेको सानिमा विद्युत् आयोजनाको सात मेगावाट क्षमताको क्यासकेट आयोजना पनि इन्धन र सामग्री अभावले निर्माण रोकिएको छ । एक महिना अगावै निर्माण सकेर राष्ट्रिय प्रसारण लाइनमा जडान गर्ने लक्ष्य रहेको कम्पनीका इञ्जिनियर वसन्त पौडेलले जानकारी दिनुभयो । इन्धन अभावका कारण बरबोटे–१ तोरीबारीस्थित निर्माणाधिन चार मेगावाट क्षमताको ‘पुवाखोला वान’को काम एक महिनादेखि ठप्प छ ।
इन्धन अभावमा ठूला मेसिन नचल्दा डेढ सय मजदुर र आयोजनाका ४० भन्दा बढी कर्मचारी कामविहीन बनेका छन् । विसं २०७१ फागुनदेखि निर्माण सुरु भएको आयोजना आगामी साउन मसान्तमा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजनाका कर्मचारी काशी घिमिरेले बताउनुभयो । नौ महिनाको अवधिमा आयोजनाको १५ प्रतिशत मात्रै काम सम्पन्न भएको उहाँको भनाइ छ । रासस















प्रतिक्रिया