३१ आश्विन २०८३, शनिबार

नाकाबन्दीले मुल्य आकासियो, धानको मुल्य घट्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dhan– विश्वराज चौधरी
नेपालगन्ज, २५ मंसिर । नाकाबन्दी र मधेस आन्दोलनका कारण सम्पूर्ण वस्तुको मुल्य आकाशिएको छ, तर कृषि प्रधान देश नेपालको मुख्य उत्पादन धानको मुल्य भने गत बर्षभन्दा कम भएको छ ।

गत बर्षकोभन्दा दुई सय बढि मुल्यमा गिरावट आएको कृषक बताउँछन् । अहिले मोटा धान १ हजार ७ सयदेखि १ हजार ८५० रुपैयाँ प्रति क्वीन्टलको दरले विक्रि वितरण भइरहेको छ । भने, हाइव्रिड धान १ हजार ८ सयदेखि १ हजार ९ सय रुपैया प्रति क्विन्टलका दरले विक्रि वितरण भइरहेको छ ।

त्यस्तै, मसिनो धान २ हजार २ सय रुपैयामा विक्रि वितरण भइरहेको छ । गत बर्ष मोटो धान नै प्रति क्वीन्टल २ हजार ५० रुपैयामा विक्रि वितरण भएको छ ।

खाद्य संस्थानले भने २ हजार १५० मा मोटा धान खरिद गरेको थियो । हाइव्रिड (मध्यम) धान २ हजार ५०, तथा मसिनो धान २ हजार ४ सयमा विक्रि वितरण भएको थियो ।

मल र सिचाइँ अभावमा उत्पादन समेत घटेको बर्ष नै धानको मुल्यमा गिरावट आएपछि किसानहरु चिन्तित छन् । उढरापुर–९ का किसान रामवरण पासीले धानको कम फलेको बर्ष नै मुल्य घटेकोमा चिन्ता व्यक्त गरे ।

उनले भने, ‘आफुले किनेर खाने सबै चिजको भाउ दोब्बर भएको छ, तर आफुले उत्पादन गरेको धानको भाउ चाहिँ झन घटेको छ, अब कसरी बालबच्चा पाल्ने ।’

गत बर्ष पासीको ३ विगाहा खेतमा १०५ क्विटन धान फलेको थियो, तर यस बर्ष जम्मा ७५ क्विन्टल मात्रै धान उत्पादन भएको छ । उनले यस बर्ष खर्च नउठ्ने बताए । ‘एकातिर धान नै कम फल्यो, अर्कोतिर भाउ पनि छैन,’ किसान पासीले दुखेसो पोखे, ‘खर्च पनि नउठने भयो ।’

किसान पासीका अनुसार, एक विगाहा खेतमा धान उत्पादन गर्दा ३३ हजार खर्च लागेको छ । धानबाट ४२÷४३ हजार मात्र आएको छ । जोताईमा ९ हजार, विउमा १ हजार ५ सय, रोपाइँमा साढे ८ हजार, मलमा ३ हजार ९ सय, कटाईमा ८ हजार २ सय, थ्रेसरमा २ हजार १ सय खर्च लागेको उनले बताए ।

किसान पासीले धानको मुल्य बढाउन सरकारसँग माग गरेका छन् । उढरापुर–६ का सहियार खान उत्पादन घटेको बर्ष धानको भाउ नपाउँदा मर्कामा परेको बताउँछन् । १ विगाहामा धान खेती गरेका खानको खेतमा २६ क्वीन्टल धान फलेको छ । जबकी गत बर्ष ४४÷४५ क्विन्टल धान फलेको थियो ।

धान उत्पादन घटेको कारण पारिवार कसरी पाल्ने भन्नेमा चिन्तित छन् खाँन । ‘९ जनाको परिवार छ, यो खेती बाहेक आम्दानीको स्रोत केही छैन, कसरी गुजारा गर्ने होला, दुई कट्ठा जग्गामा जम्मा १५ किलो मात्रै फल्यो,’ किसान खाँनले भने ।

अर्का अधिया खेती गर्ने सोनपुर–१ का पल्टुराम थारुलाई धान कम फलेपछि ८ जना परिवार पाल्न धौ–धौ भएको छ । उनले ४ विगाहामा अधिया धान खेती गरेका छन् । ‘सुख्खाले धान नै फलेन, यता धान भाउ पनि छैन, हामी किसान त मर्ने भइयो,’ किसान थारुले आक्रोश हँुदै भने, ‘अहिले जे को पनि भाउ बढेको छ, हामीले किन्ने जति सबैको दाम बढ्ने, हामीले वेच्ने धान भाउ चाहि घट्ने ?’

खाद्य व्यवसायी दिपक अधिकारी यस बर्ष धानको भाउ नभएको बताउँछन् । उनले गत बर्षको भन्दा दुई सय कम मुल्य रहेको बताए । खाद्य संस्थानले मुल्य नतोकिदिएका कारण पनि धानले मोल पाउन नसकेको व्यापारीहरुको भनाई छ ।

व्यवसायी अधिकारी यस बर्षको भाउले किसानलाई उत्पादन खर्च पनि नआउने बताउँछन् । ‘यति सस्तो छ धानको भाउ, यसले त किसानको श्रम नै जान्छ,’ अधिकारी भन्छन् ।

खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जका प्रमुख शंकर लामिछानेले कोटा नै कम छुट्याएको कारण मुल्य तोक्न हतार नगरेको बताए । यस बर्ष खाद्य संस्थान नेपालगन्जको भागमा ५० हजार क्वीन्टल धान खरिदको जिम्मा थियो । जबकी यस बर्ष १० हजार क्विन्टल मात्र कोटा परेको छ ।

संस्थान प्रमुख लामिछाने भन्छन्, ‘मुल्य तोक्यो भने किसानको भिड लाग्छ, कोटा यति थोरै छ के गर्ने ?’