६ कार्तिक २०८३, शुक्रबार

२३ वर्षकी थिएँ, भागेर दिल्ली जाने आँट गरेँ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Shanta Manaviधुलेमाटोमा चिप्लेटी खेल्ने उमेरमा लोग्नेको घर जानुपर्‍यो । जवानी फक्रिन नपाउँदै १३ वर्षको उमेरमै लोग्नेको किरिया बस्नुपर्‍यो । विधवा भेषमा माइती बस्दा समाजले टोकिरह्यो । २३ वर्षको उमेरमा विरक्त मनलाई जबर्जस्त नियन्त्रित गर्दै पढ्ने अभिलाषा लिएर दिल्लीतिर भाग्नुपर्‍यो । जीवन संघर्षका क्रममा यस्ता धेरै आध्यारा सुरुङ छिचोल्नुपर्‍यो । उनै एकल महिला राजनीतिकर्मी शान्ता मानवी ६९ वर्षको उमेरमा मन्त्रीको कुर्सीमा पुगिन् । नयाँ पत्रिकाका उज्वल पहाडीले मन्त्री मानवीका जीवन संघर्षका पाटा खोतलेका छन् :

म भट्टराईकी छोरी । हजुरबुबाको पण्डित्याइँ पेसालाई बुबाले पनि पछ्याउनुभयो । दाजु भने सरकारी जागिरे हुनुहुन्थ्यो । गाउँमा मेरो परिवार प्रतिष्ठित नै थियो । बुबाका त आठ–दश हजार शिष्य थिए, कतिपय अझै छन् ।

अहिले पनि गाउँ जाँदा गुरुकी छोरी भनेर गाउँलेहरू खुसी पोख्छन् । म जन्मिएको छोटो समयमै आमाले बहिनी पनि जन्माउनुभयो । त्यसपछि मलाई मावली घर पठाइयो । मावलीमै हुर्केँ । धुलेमाटोमा चिप्लेटी खेल्ने उमेर थियो, तर लोग्नेको घर जानुपर्ने भयो ।

आठ वर्षको उमेरमै बिहे गरिदिनुभयो । दुलही बनेर पहिलोपटक लोग्नेको घर जाँदा जम्मा तीन रात बसेँ । त्यो उमेरमा दुलही बनेकी मलाई के नै उमंग हुन्थ्यो र रु तीन रात त्यहाँ बिताएपछि दुल्हन फर्काउन भन्दै मलाई आफ्नै घर (माइती) मा ल्याइयो । म माइतीमै बस्न थालेँ । त्यतिखेरको चलन नै यस्तै थियो ।

माइतीमै मेरा दिन बित्न थाले । समयले नेटो काट्दै गयो, म आमयुवतीझैँ फक्रिँदै गएँ । माइतीकै खाएर, माइतीमै खेलेर १३ वर्षकी भएँ । आफ्नो जीवनसंगीबारे मनमा तरंग पैदा हुने उमेर सुरु भइसकेको थियो । यो स्वाभाविक थियो । तर, मलाई लोग्नेको अनुहारसम्म सम्झना थिएन । के भनेर कल्पिनु मीठा–मीठा कुरा ? यति नै वेला म लोग्नेको घर जानुपर्ने खबर आयो ।

तर, खबर खुसीको थिएन । लोग्नेसँग रमाइलो भलाकुसारी गरुँली भन्ने सपना देख्नु नै बेकार थियो मैले । खबर आएको थियो– लोग्नेको किरिया गर्न आउनुपर्‍यो । दोस्रोपटक लोग्नेको घर गएँ, केवल संस्कारअनुसार काजकिरियामा सहभागी हुन ।

यस्ती अभागी विधवा भएँ कि श्रीमान्को तस्बिर कल्पिएर मन भुलाउने एउटा सम्झनासमेत पाइनँ । न त लोग्नेको घरलाई आफ्नै घर ठान्ने अवसर पाएँ । बिहे गरेर गएको घर पनि अर्घाखाँची नै थियो । एउटै जिल्लामा घर–माइती भए पनि त्यतिखेर पैदल यात्रा नै गर्नुपथ्र्यो ।

माइतीघरबाट लोग्नेको घर लैजाँदाका केही दृश्य मात्रै धमिलो गरी सम्झन सक्छु । बाटोमा बाँदर नाचेको स्मरण हुन्छ । उहाँको अदालतमा जागिर थियो भन्नेसम्म सुनेकी थिएँ । खोइ, के बिमारले बित्नुभयो ? १३ दिनको किरिया र एक वर्षको बरखी सकेपछि मलाई माइतीघरमै फर्काइयो । घरमा त वर्षको एकपटक जान्थेँ उहाँको श्राद्ध गर्न ।

पछि, सासूआमाले ‘सधैँ आइरहनुपर्दैन, अब भाइले गरे पनि हुन्छ’ भनेपछि घर जान छाडिदिएँ । माइतीमै बस्न थालेँ । तर, उमेरले बुझ्ने हुँदै जाँदा समस्याका पहाडले थिच्न थाले । बिहे गरेकी छोरी सधैँभरि माइती बस्ने कुरालाई समाजले नै राम्रो मान्दैनथ्यो ।

माइतीमा आमाको दुस्ख उस्तै थियो । बुबाले अर्की आमा ल्याएर बस्नुभएको थियो । एउटी फुपू पनि विधवा भएर माइतीमै हुनुहुन्थ्यो । दृष्टिविहीन जेठा बा पनि हुनुहुन्थ्यो । माइतीमा बस्दा ममाथि सामाजिक तिरस्कारका रूप पनि प्रकट भए । विवाह, व्रतबन्धजस्ता धार्मिक कार्यमा ‘यो शुभ कार्य हो, तिमी यता आउनुहुन्न’ भन्थे ।

कतै कुनातिर लगेर बसाउँथे । २३ वर्षसम्म यस्तै–यस्तै पीडा झेल्दै माइतीमै बसेँ । घाँस, दाउरा, मेलापात र गोठको काम गरेर समय बित्न थाल्यो । यसबीचमा बिहेका लागि धेरैतिरबाट प्रस्ताव आए । तर, मलाई बिहेबारे सोच्नसम्म मन लागेन । आफू आत्मनिर्भर बन्नुपर्छ भन्ने मान्यता ममा पलाइसकेको थियो । मैले माइतीघर छाड्ने निर्णय गरेँ ।

२३ वर्षकी थिएँ, भागेर दिल्ली जाने आँट गरेँ । हाम्रै सामाजिक मान्यताका कारण माइतीघर छाड्ने निर्णयमा पुगेकी थिएँ । पढेर केही गर्ने सोच पलाएको थियो । त्यसो त बुबाले पनि माइतीमै पढ्न पठाउन थालिसक्नुभएको थियो ।

तर, पलपलको सामाजिक तिरस्कारबीच मेरो उद्देश्य पूरा नहुने ठानेँ । साथमा भएको थोरै सुन बेचेर पैसा जम्मा गरेँ । त्यही पैसाले दिल्ली पुगेँ । त्यहाँ अलिक टाढाकै नाताकी दिदी हुनुहुन्थ्यो ।

०००

दिल्ली त पुगेँ, तर जिउन मलाई सजिलो थिएन ।  नोकरी खोज्दै गल्ली–गल्ली धाएँ । नोकरीकै खोजीमा म एक दिन रमा भन्ने कलेजमा पुगेँ । अहिले त त्यो कलेजको नाम पनि परिवर्तन भएछ । त्यहीँ पियनको नोकरी गर्न थालेँ । कलेजमा सबैकी प्यारी बन्न थालेँ ।

हाकिमहरू मायाले ‘जेठी छोरी’ भन्थे । तर, ५–६ महिना काम गरेपछि बिरामी भएँ । त्यतिखेर दाजु एउटा ‘प्लान’अन्तर्गत देहरादुनमा ‘फरेस्ट्री’ पढ्नुहुन्थ्यो । ‘सन्चो’ मेरो दाजुले नै ‘प्रोडक्ट’ गर्नुभएको हो । उहाँले म बिरामी भएकोबारे थाहा पाउनुभएछ । भेट्न आउनुभयो । एक महिना अस्पताल भर्ना भएर उपचार गरेँ । त्यसपछि नोकरी पनि छाडिदिएँ ।

अर्को कामका लागि भौँतारिँदै थिएँ, मोदनाथ प्रश्रित दाइ भद्रगोल जेलबाट निस्किनुभएको खबर पाएँ । मोदनाथ प्रश्रितसँग मेरो पारिवारिक सम्बन्ध नजिकको थियो । मेरा दाजु धु्रवराज भट्टराई र उहाँले साइनो गाँस्नुभएको थियो मितको ।

बुबाहरूले सानैमा टाउको ठोक्काइदिनुभएको रे । मलाई सधैँ पढ्न प्रेरित गर्ने मितदाजुको नाममा मैले रमा कलेजबाटै भद्रगोल जेलमा चिठी पनि पठाएकी थिएँ । तर, दोहोरो कुराकानी हुँदैनथ्यो ।

मोदनाथ दाइ बनारसमा रहँदा पुष्पलाल श्रेष्ठ उतै हुनुहुन्थ्यो । मोदनाथ दाइले पुष्पलालसँग मेरोबारे कुरा गर्नुभएछ । मलाई बनारस नै ल्याउन भन्नुभएछ । त्यसपछि मोदनाथ दाइ मलाई खोज्दै दिल्ली आउनुभयो ।

हाम्रो भेट भएपछि म उहाँसँगै बनारस पुगेँ । पहिलो भेटमै पुष्पलालको व्यवहारबाट प्रभावित भएँ । उहाँले मेरो सबै अवस्था सोध्नुभयो । मेरा दिन उहाँहरूसँगै बित्न थाले । पार्टी केन्द्रीय कमिटीका बैठकहरू हुन्थे ।

साहित्यिक क्रियाकलाप पनि हुन्थे । नेताहरूसँगको संगतले मेरो ध्यान राजनीतितिरै खिचियो । ०२८ सालमा पुष्पलालले मेरै अध्यक्षतामा क्रान्तिकारी महिला संघ बनाउनुभयो । पछि, मदन भण्डारीसँग पनि बनारसमै भेट भयो ।

कम्युनिस्ट पार्टीभित्रको अनुशासनबाट म त्यतिखेर निकै प्रभावित थिएँ । राजनीतिसँगै पढाइ पनि अगाडि बढाउँदै थिएँ । ०३२ सालमा एसएलसी दिएँ । पहिलोपटक जाँच दिएकै एसएलसीमा हो, त्यसअघि कुनै जाँच दिएकी थिएनँ । एसएलसी पास गरेपछि नेपाल फर्किएँ । यहाँ राजनीतिमै केन्द्रित भएँ ।

एक वर्षको राजनीतिपछि फेरि पढ्न भन्दै बनारस गएँ । मास्टर डिग्रीसम्म पढ्ने इच्छा थियो, तर जीवराज आश्रितले राजनीतिका लागि नेपाल नै आउन जोड गर्नुभयो ।

उहाँले नै टिकट काटेर मलाई नेपाल फर्काउनुभयो । ०४६ सालसम्म आश्रितसँगै रहेर काम गरेँ । ०३२ सालमा पूर्णकालीन सदस्य भएर राजनीतिमा सक्रिय म ०४९ को पाँचौँ महाधिवेशनसम्म आइपुग्दा केन्द्रीय कमिटीको वैकल्पिक केन्द्रीय सदस्य भएँ । त्यसबीचमा इलाका र जिल्ला कमिटीमा रहेर काम गरेँ ।

०००

राजनीतिमा सक्रिय रहँदै गर्दा पनि विवाहका प्रस्ताव धेरै आए । फेरि बिहे गर्नुपर्छ भन्ने सुझाब पनि धेरैले दिनुभयो । कतिपय पार्टीकै साथीहरू नजिक हुन खोज्नुभयो । तर, मलाई बिहे गर्न मनै लागेन ।

हाम्रो समाजमा श्रीमतीको निधन भयो भने पुरुष एक्लैले घर चलाउन सक्दैन भनेर दोस्रो बिहे गरिदिन्छन् । आठ–दशवटी बिहे गरे पनि पुरुष आफ्नो ठाउँबाट तल झर्दैनन् ।

तर, महिलाले आफ्नो खुसीले बिहे गर्दा तल झरेको मूल्यांकन गरिन्छ । मलाई एक क्षण पनि तल झर्न मन लागेन । त्यसैले पुनर्विवाह गरिनँ ।

०००

कृषि मेरो रुचिको क्षेत्र हो । भूमिगत कालमा सांगठनिक काम गर्दा जीवराज आश्रितलगायत हामी ‘हाम्रो सरकार बन्यो भने कस्तो पोसाक लगाउने, कस्तो खाने, कसले कुन मन्त्रालय सम्हाल्ने’जस्ता कुरा गथ्र्यौँ ।

‘हाम्रो सरकार बने तपाईं कुन मन्त्री बन्ने’ भनेर आश्रितले मलाई सोध्नुहुन्थ्यो । म ‘कृषिमन्त्री’ भन्थेँ ।

अघिल्लो सरकारका वेलामा ‘मलाई कृषि मन्त्रालय दिए काम गर्थेँ’ भनेर केही कमरेडसँग कुरा पनि गरेको थिएँ । तर, हरि पराजुलीलाई बनाइयो । मैले नेतृत्व गरेको संगठनको सचिव मन्त्री हुँदा बोल्ने कुरा पनि भएन । यसपटक पनि मन्त्री बनाइन्छु भन्ने सोचेकै थिइनँ ।

तर, मन्त्री बन्ने इच्छा भने केही नेतासँग व्यक्त गरेकी थिएँ । संसद्को उद्योग वाणिज्य तथा आपूर्ति समितिको बैठकमा रहेकै वेला फोनको घन्टी बज्यो । उपमहासचिव विष्णु पौडेलको रहेछ । फोन उठाएँ । उहाँले ‘बालुवाटार जाने होइन दिदी’ भनेर सोध्नुभयो ।

‘मलाई त कसैले केही भनेको छैन,’ मैले जवाफ फर्काएँ । तर, उहाँले तत्काल बालुवाटार आउन भन्नुभयो । मसँग गाडी थिएन । साथीहरूसँग गाडी मागेँ, तर कतै मिलेन । कसैले तेलको लाइनमा छ भन्नुभयो, कसैले कतै ।

अन्ततस् संसद्का महासचिव मनोहर भट्टराईको सहयोगमा बालुवाटार पुगेँ । दिउँसोको ३ बजिसकेको थियो । बालुवाटारभित्र एउटा कोठामा नेताहरू हुनुहुन्थ्यो । म बाहिरै अर्को कोठामा बसेँ । केहीबेरमा बैठक सकिएपछि शीतलनिवास जाने कुरा भयो ।

त्यतिवेलासम्म पनि ‘मन्त्री बन्दै छु’ भन्ने कुरा मलाई विश्वास थिएन । शपथग्रहणका लाइनमा बसाएपछि मात्रै थाहा भयो– म अब पक्कै मन्त्री बन्दै छु । अलि पहिला थाहा पाएको भए आफ्ना केही इष्टमित्र पनि बोलाउँथे भन्ने लाग्यो । किनभने, त्यहाँ अरूका आफन्त तथा इष्टमित्र आएका थिए ।

०००

मितदाजु प्रश्रित ‘जय किसान, जय मानवतावाद’ भन्नुहुन्थ्यो । यो ०२३/२४ सालतिरको कुरा हो । केटाकेटीदेखि नै उहाँमा सृजनशीलता थियो । उहाँको बुबा चाँडै बित्नुभयो ।

उहाँ हाम्रो घरमा गइरहनुहुन्थ्यो । खेतमा जाने, पानी लगाउने, भारी बोक्नेजस्ता काम सिकाउने गर्नुहुन्थ्यो । बुट्टा भर्ने, सिउने काम पनि सिकाउनुहुन्थ्यो ।

सिकाउँदा नै रुमालमा ‘जय मानवतावाद’ लेखिदिनुहुन्थ्यो । मानव सेवा गर्नुपर्छ भन्ने कुरा सिकाउनुहुन्थ्यो । त्यहीवेलाबाट मैले पनि नामका पछाडि मानवी लेख्न थालेँ । नागरिकतामा पनि मानवी नै छ ।