२२ कार्तिक २०८३, आइतबार

एमाओवादी केन्द्रीय समिति बैठकः बाबुरामको भण्डाफोर गर्न प्रचण्डको निर्देशन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Prachanda-1

काठमाडौँ, १५ मङ्सिर । एकीकृत नेकपा(माओवादी)ले तराई मधेसको समस्यालाई राजनीतिक तवरले समाधान गर्न आग्रह गरेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडमा आजबाट सुरु भएको एमाओवादीको केन्द्रीय समितिको बैठकमा राजनीतिक विषयलाई राजनीतिक तवरले नै सम्बोधन गर्नुपर्नेमा जोड दिइएको छ ।

मधेसको समस्यालाई तत्काल समाधान गर्नुपर्नेमा जोड दिँदै एमाओवादीले लामो समयदेखिको तराई मधेसको आन्दोलन र भारतको अघोषित नाकाबन्दीका कारण जनजीवन प्रभावित भएको, मुलुकको आर्थिक प्रणाली अत्यन्तै सङ्कटग्रस्त भएको एमाओवादीले ठहर गरेको छ ।

आजको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले वर्तमान राजनीतिक अवस्थाको र पार्टीको भावी कार्यदिशाका विषय समेटिएको २७ पेज लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

उहाँले राजनीतिक विषयलाई राजनीतिक तवरले र अन्य प्राविधिक तथा विवादका विषयलाई समग्र राजनीतिक सहमतिका आधारमा मात्रै अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

एमाओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी परित्याग गरेपछि पहिलोपटक बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष दाहालले विभिन्न कालखण्डमा पार्टी छाडेका र छुट्टै पार्टी बनाएका मोहन वैद्य, मणि थापा, मातृका यादवलगायतका विभिन्न माओवादी घटकलाई पार्टी एकताका लागि समेत आग्रह गर्नुभएको बुझिएको छ ।

संविधान जारी भइसकेको अवस्थामा त्यसबाट प्राप्त भएका प्रगतिशील र परिवर्तको मूल्य र मान्यतालाई आत्मसात् गर्दै भावी सङ्घर्षमा जुट्नेसमेत राजनीतिक प्रतिवेदनमा समेटिएको छ । यस्तै, बैठकमा बोल्दै दाहालले पार्टी परित्याग गरेर हिँडेका बाबुराम भट्टराईको भण्डाफोर गर्न कार्यकर्तालार्इ निर्देशन समेत दिनुभएको छ ।

अचानक पार्टी परित्याग गरी ‘नयाँ शक्ति’को बहसमा लागेका बाबुराम नियोजित रुपमा अघि बढेको निष्कर्ष निकाल्दै दाहालले भण्डाफोर गर्न कार्यकर्तालाई लिखित निर्देशन दिनुभएको हो ।

एमाओवादी प्रवक्ता दीनानाथ शर्माले आजको बैठकमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन पेस गरिएको र समसामयिक विषयमा आफ्नो धारणा राख्नुभएको जानकारी दिनुभयो ।

उहाँले आज प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदन पार्टी केन्द्रीय सदस्यलाई अध्ययनका लागि बुधबारको समय प्रदान गरिएको र बिहीबार पुनः बैठक बस्ने बताउनुभयो ।

पार्टी अध्यक्षको प्रतिवेदनमा समसामयिक राजनीतिक अवस्था, मुलुकको राजनीतिक अवस्था, पार्टीको भावी कार्यदिशालगायतका विषय समेटिएको प्रवक्ता शर्माको भनाइ छ ।

आजको बैठकमा लामो समय पार्टीबाट बाहिर रहनुभएका स्थायी समिति सदस्य लोकेन्द्र विष्ट मगर सहभागी हुनुभएको थियो । अध्यक्ष दाहाललाई राजीनामा बुझाएर निस्क्रिय रहनुभएका मगर बैठकमा सहभागी हुनुभएको थियो । रासस