– विमल योगी
काठमाडौं, १४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको आव्हानमा आज बसेको प्रमुख दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको त्रिपक्षीय बैठक विषयमै प्रवेश नगरी सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सबै पक्षले आ–आफ्नो धारणा राख्दै अर्काे बैठकमा विषयमा प्रवेश गर्ने सहमति गरी बैठक सकिएको मधेसी मोर्चाका नेता अशोक राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो– बैठकमा कुनै विषयनै प्रवेश भएन् । सीमाकंनको पनि कुरै भएन् । वार्ता निरन्तर जारी राख्ने र १६ गते बेलुका ६ बजे बस्ने अर्काे वार्तामा समाधान खोज्ने सहमति भयो ।’
राईका अनुसार मधेसी नेताहरुले बैठकमा सरकारबाट तराईमा भएको दमनको विरोध गरेका थिए । उनीहरुले सत्तापक्षले गरेको दमन रोक्न माग समेत गरे ।

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै एमाओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बैठकमा कुनै विषयवस्तु प्रवेश नभएको बताउनुभयो । उहाँले भन्नुभयो- ‘वार्ता निरन्तर जारी राख्ने निर्णय भएको छ । हामीले मोर्चालाई तराई मधेसमा कांग्रेस एमालेका झण्डा जलाउने, कार्यक्रम विथाल्ने कुरामा ध्यानाकषर्ण गरायौ । खासै जवाफ दिएन् ।’
उहाँले सीमांकन स्थगन गर्ने कुराहरु नआएको दाबी गर्नुभयो । बैठकमा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले सीमांकन स्थगित गर्न प्रस्ताव राख्नुभएको थियो ।
बैठकमा आन्दोलनरत मधेसी मोर्चाबाट अशोक राई, महन्थ ठाकुर, लक्ष्मणलाल कर्ण, रामनरेश राय, लालबहादुर राउत सहभागी हुनुहुन्थ्यो । यसैगरी प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र नेता शेरबहादुर देउवा सहभागी हुनुहुन्थ्यो । सत्तापक्षबाट प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्रीद्वय विजयकुमार गच्छदार र कमल थापा सहभागी हुनुहुन्थ्यो ।


















प्रतिक्रिया