बाबियाचौर (म्याग्दी), १४ मङ्सिर । विदेशमा दिवङ्गत भएका म्याग्दीका एक युवाको परिवारलाई आर्थिक सहयोग जुटाउन ‘फेसबुक’ मार्फत अभियान सञ्चालन गरिएको छ ।
भगवती- ९ का कमल भण्डारीको परिवारका लागि ‘फेसबुक’ मार्फत सञ्चालन भएको अभियानबाट रु तीन लाख नौ हजार ९०८ जुटेको छ । कात्तिक १२ गते साउदीको रियादमा दुर्घटनामा परी दिवङ्गत भएका कमलको परिवारलाई सहयोग गर्न देश विदेशमा रहेका भगवतीवासीले अभियान सञ्चालन गरेका हुन् ।
‘फेसबुक’ अभियानमार्फत बेलायतमा रहेका भगवतीका अम्बरबहादुर र एकेन्द्रबहादुर भण्डारीको नेतृत्वमा सङ्कलित रु एक लाख ८७ हजार २७२ आइतबार स्वर्गीय भण्डारीकी श्रीमती मीनालाई हस्तान्तरण गरिएको छ ।
यसैगरी जापानमा रहेका सागर भण्डारीको नेतृत्वमा रु २० हजार, कोरियामा रहेका रमेश भण्डारीको पहलमा रु एक लाख २२ हजार ६०० र साउदीमा रहेका म्याग्देलीले रु १६ हजार सहयोग गरेका छन् ।
फेसबुकमार्फत भण्डारी परिवारको अवस्था र सहयोग जुटाउनुपर्ने कारण खुलाएर अपिल जारी गरिएको छ । यसैगरी सहयोगदाताको नामावली पनि फेसबुकमार्फत सार्वजनिक गर्ने व्यवस्था रहेको अभियन्ता गोविन्द भण्डारीले बताउनुभयो ।
उहाँका अनुसार घरमूली भण्डारीको मृत्युपछि कमजोर आर्थिक अवस्थामा रहेका परिवारका सदस्यहरु समस्यामा परेकाले सहयोग सङ्कलन अभियान सञ्चालन गरिएको हो । दिवङ्गत भण्डारीको परिवारमा तीन वर्षीया छोरी दृष्टि, श्रीमती र दृष्टिविहीन आमा हुनुहुन्छ । छोरीको शिक्षा, पालनपोषण र घरपरिवारको राहतका लागि आर्थिक सङ्कलन अभियान सञ्चालन गरिएको हो ।
भण्डारी छ महिना अघि जेरी म्यानेजमेन्ट सर्भिस कुपण्डोलमार्फत साउदी पुगेका थिए । उनको शव अझै नेपाल आउन सकिएको छैन । शव घर ल्याउन सहयोग गरिदिन परिवारले सरकार र साउदीमा रहेका नेपाली दूतावाससँग आग्रह गरेका छन् । रासस














प्रतिक्रिया