काठमाडौं, १४ मंसिर । नेपाली सेनाले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम तरल र अप्ठ्यारो अवस्था रहेको विश्लेषण गरेको छ ।
झन्डै एक सय दिनदेखि तराई मधेसमा भइरहेको आन्दोलनबारे सेनाले तयार पारेको प्रतिवेदनमा मधेसमा जारी आन्दोलन झन्झन् जटिल बन्दै गइरहेको र तत्काल समस्या समाधान नभए अरू जटिल रूप लिन सक्ने उल्लेख रहेको समाचार अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ ।
नेपाली सेनाको गुप्तचर निकाय डिरोक्टोरेट अफ मिलेटरी इन्टेलिजेन्स (डीएमआई)ले तयार पारेको प्रतिवेदनमा सुरुआती दिनमा तराई मधेसमा चलेको आन्दोलन मधेसी मोर्चाको नियन्त्रणमा रहेपनि अहिले मोर्चाको नियन्त्रणबाहिर रहेको पनि उल्लेख छ ।
कतिपय स्थानका विरोध र आन्दोलनका कार्यक्रमको नेतृत्वसमेत नभएको र प्रदर्शन अराजक एवं हिंसात्मक बन्दै गएको सेनाको निष्कर्ष छ ।
तराई मधेसको स्थिति काबुमा लिन प्रधानमन्त्री अध्यक्ष रहने राष्ट्रिय सुरक्षा परिषद्ले गर्ने कुनै पनि निर्णय कार्यान्वयन गर्न नेपाली सेना तयारी अवस्थामा रहेको स्रोतले बतायो ।
तराई मधेसका समस्या नियन्त्रणमा लिन सेना परिचालन गर्नेबारे सरकारकै मन्त्रीहरूबीच फरकफरक धारणा आइरहेका बेला आइतबार सैनिक मुख्यालयमा मुलुकको पछिल्लो अवस्थाबारे पूर्वप्रधानसेनापति र अवकाश प्राप्त सैनिकका उच्च अधिकारीसँग सैनिक नेतृत्वले छलफल गरेको छ ।















प्रतिक्रिया