६ कार्तिक २०८३, शुक्रबार

भूकम्पका नाममा १४ अर्ब रुपियाँ भ्रष्टाचार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

house-Bhukampa (2)काठमाडौं, १४ मंसिर । वैशाख १२ को भूकम्पपछि सरकारले पीडितहरूको राहत र उद्धारमा केन्द्रीय दैवीप्रकोप उद्धार समितिबाट १४ अर्ब रुपैयाँ खर्च गरेको छ ।

तर, खर्च अपारदर्शी रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अध्ययनले देखाएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

आयोगले भूकम्पबाट अति प्रभावित जिल्ला मकवानपुर, ओखलढुंगा, रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर, काठमाडौ, ललितपुर र गोरखामा खर्च रकमको अध्ययन गरेको थियो ।

अध्ययनमा केन्द्रीयस्तरमा रकम विनियोजन गर्दा स्थानीयस्तरको पहिचान गर्ने, पीडितको पहिचान गर्ने, आयोजनामा पुगेको क्षतिको पहिचान नगरेको उल्लेख छ ।

भूकम्पबाट भएको क्षति न्यूनीकरण गर्न सरकारले राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई सहयोग गर्न अपिल गर्दै प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम संकलन गरेको थियो ।

कोषमा विभिन्न संघ–संस्थाले ६ अर्ब ७४ करोड ९१ लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा जम्मा गरेका छन् ।

अर्थ मन्त्रालयबाट ९ अर्ब ५० करोड रुपैयाँ निकासा भई कोषमा कुल १६ अर्ब २४ करोड ९१ लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा जम्मा भएको थियो ।

त्यसमध्ये केन्द्रीय दैवीप्रकोप उद्धार समितिलाई १५ अर्ब रुपैयाँ निकासा भएकोमा १४ अर्ब रुपैयाँ खर्च भएको छ ।

कोषमा अहिले १ अर्ब २४ करोड ९१ लाख ६१ हजार ३ सय ३३ रुपैयाँ ५१ पैसा सञ्चित छ ।