काठमाडौं, १३ मंसिर । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा गम्भीर भएको जनाएको छ ।
सभापति सुशील कोइरालाको निवास महाराजगञ्जमा आज (आइतबार) बेलुका बसेको पदाधिकारी र प्रभावशाली नेताहरुको बैठकमा नाकाबन्दी र त्यसले सृजना गरेको अवस्थाका विषयमा कांग्रेस गम्भीर बनेको हो । मुलुकलाई राजनीतिक निकास दिनका लागि जिम्मेवार सबैलाई लचकताका साथ प्रस्तुत हुन आग्रह पनि गरेको छ ।
सभापति कोइराला क्यान्सरको उपचार गरेर स्वदेश फर्केपछि पहिलो पटक बसेको पदाधिकारी बैठकमा मधेसी र थारु आन्दोलनकारीका माग र उनीहरुको आन्दोलनका विषयमा समेत छलफल भएको बुझिएको छ ।
स्रोतका अनुसार कांग्रेसले आफ्नो सरकारका पालामा संसदमा दर्ता गराएको समावेशी र समानुपातिक तथा जनसंख्या र भूगोलका आधारमा निर्वाचन क्षेत्र बनाउने विधेयकलाई अगाडि बढाउन पहल गर्ने निर्णय गरेको छ ।
त्यसै गरी कांग्रेसले भूकम्पबाट क्षति भएको संरचनाको पुनःनिर्माणका लागि गठन गर्न बनेको पुनःनिर्माण प्राधिकरणको विधेयकलाई पनि अगाडि बढाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले आफ्नो सरकारका पालमा पेश भएको विधेयकलाई नै पारित गर्नुपर्ने जनाएको छ ।
पदाधिकारी बैठकमा हालसम्म भएको राजनीतिक वार्ता र सम्वाद तथा अन्य आगामी दिनमा कसरी अगाडि भन्ने विषयमा पनि सामान्य छलफल भएको बुझिएको छ ।
बैठकमा सभापति कोइरालाले आजै भारतीय राजदूत रञ्जीत रायसँग भएको भेटवार्ताका विषयमा भएको कुराकानीका बारेमा पदाधिकारीहरुलाई जानकारी गराउनु भएको थियो ।
भेटमा भारतले लगाएको नाकाबन्दी खुलाएर आपूर्ति व्यवस्था सहज बनाउन कोइरालाले रायसँग आग्रह गर्नुभएको स्रोतले जनाएको छ ।












प्रतिक्रिया