पोखरा, १३ मङ्सिर । नाकाबन्दीका विरुद्धमा नेपाल कम्युनिस्ट पार्टी माओवादी(चन्द समुह)ले आह्वान गरेको नेपाल बन्दका कारण कास्कीको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण यहाँ बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका छैनन् भने बजार क्षेत्रमा पसल फाट्टफुट्ट खुलेका छन् ।
बिहानको समयमा सञ्चालन हुने शैक्षिक संस्थाको पठनपाठन पनि प्रभावित भएको छ ।
बिहान कास्कीका विभिन्न ठाउँमा बन्द गराउँदै हिँड्ने २७ जनालाई लेखनाथ र पोखराका विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको कास्की प्रहरीका प्रवक्ता कृष्णबहादुर बल्लीले बताउनुभयो ।
उहाँका अनुसार लेखनाथ नगरपालिका क्षेत्रबाट सातजना र पोखरा उपमहानगर क्षेत्रबाट २० जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
चितवनमा बन्द गर्न खोज्ने तीन पक्राउ
नेकपा माओवादी नेत्रविक्रम चन्द समुहले आह्वान गरेको नेपाल बन्दका क्रममा आज बिहान नारायणगढबाट तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
गाडीमा ढुङ्गा हान्न खोज्दा तिनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरका अनुसार माइक्रोबसको साँचो खोस्ने र ढुङ्गा हान्ने प्रयास गर्दागर्दै ढुङ्गासहित उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा पार्टीको क्षेत्र नं ३ का सेक्रेटरी भीमबहादुर खड्का र विद्यार्थीहरु नयनसिंह खड्का र केशव भट्टराई रहेका छन् ।
माओवादीका जिल्ला सेक्रेटरी महेश थारुले भारतीय गाडी लक्षित गरिएको भए पनि नेपाली सवारी साधन भने तोडफोड नगरी रोक्ने काममात्रै भइरहेको बताउनुभयो । बन्दका कारण जनजीवन प्रभावित भएको छ । रासस












प्रतिक्रिया