काठमाडौं, १३ मंसिर । मधेस आन्दोलनका क्रममा सप्तरीमा प्रहरीको गोलीले मारिएका चारजनाको शनिबार शवयात्रा निकालिएको छ ।
गत शनिबार र आइतबार मारिएका सप्तरीका नागेश्वर यादव, वीरेन्द्र राम, दिलीप साह र शिवशंकर दासलाई सहिद घोषणा तथा परिवारजनलाई उचित क्षतिपूर्तिका लागि जिल्लाबाट सर्वपक्षीय सर्वदलीय बैठकबमोजिम स्थानीय प्रशासनले गृह मन्त्रालयमा सिफारिस गरेर पठाएपछि चारैजनाको शव यात्रा निकालिएको नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
राजविराजस्थित गजेन्द्र चोकमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले मृतकहरूको पार्थिव शरीरमा पार्टीको झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिए ।
राजविराजबाट सुरु भएको शवयात्रा सिरहाको लहानसम्म पुगेर पुनस् सप्तरी फर्किएको थियो ।
लहानमा करिब १० हजारभन्दा बढी सर्वसाधारणको सहभागिता थियो । सप्तरीको राजविराजबाट सुरु भएको शवयात्रा रूपनी, कल्याणपुर, कदमाहा हुँदै सिरहाको लहान आइपुगेको थियो ।
उनीहरूको शनिबार राति नै अन्त्येष्टि गरिने रामसपाका जिल्ला अध्यक्ष गजेन्द्र मण्डलले जानकारी दिए ।
वीरगन्जमा कांग्रेसको झन्डा जलाइयो
संघीय समावेशी मधेसी गठबन्धनले वीरगन्जमा शनिबार कांग्रेसले निकालेको र्याली बिथोलेर झन्डा जलाएको छ ।
कांग्रेस नगर कार्यसमितिले पार्टीको झन्डा र ब्यानरसहित मधेस आन्दोलनको समर्थनमा निकालेको र्याली बिथोल्दै गठबन्धनका कार्यकर्ताले ‘कांग्रेस मुर्दावाद, घुसपैठ बन्द गर’ जस्ता नारा पनि लगाएका थिए ।
जनकपुरमा विद्यार्थीको प्रदर्शन
मधेस आन्दोलनको समर्थन गर्दै शनिबार जनकपुरमा विद्यार्थीले प्रदर्शन गरेका छन् । रंंगभूमि मैदान बाह्रबिघामा भेला भई विद्यार्थीले मधेस समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका थिए ।
जनकपुरका सवा सय निजी विद्यालयका कक्षा ६–१० सम्मका करिब २५ हजारभन्दा बढी विद्यार्थी मैदानमा भेला भएका थिए ।
स्कर्टिङमा आएको गाडीमा आगजनी
विराटनगरबाट स्कर्टिङमा आएको ना.३ख २२२९ नम्बरको ट्रकमा शनिबार बिहान मधेसी मोर्चाका कार्यकर्ताले लहान नगरपालिका–८ स्थित एक गोदाममा सामान अनलोड गरिरहेको अवस्थामा पेट्रोल छर्केर आगजनी गरेका छन् ।















प्रतिक्रिया