लिसबन, १३ मंसिर । भारतीय मूलका एन्तोनियो कोस्टा पोर्चुगलका प्रधानमन्त्री बनेका छन् । पोर्चुगलका राष्ट्रपति क्यावेको सिल्वाले कोस्टालाई बिहीबार पोर्चुगलका प्रधानमन्त्रीको शपथ ग्रहण गराएका छन् ।
वामपन्थी विचारधाराप्रति झुकाव राख्ने ५४ वर्षीय कोस्टाको पैतृक थलो भारतको गोवा राज्यको पणजीबाट ३५ किलोमिटर दूरीमा अवस्थित मडगाव रहेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
उनी सानैदेखि राजनीतिमा रुचि राख्थे र आफ्ना बाबुसँग राजनीतिका बारेमा छलफल गर्न मन पराउँथे । उनलाई बाबुस भनिन्थ्यो । यसको अर्थ कोंकणी भाषामा ‘सानो बालक’ भन्ने हुन्छ । कोंकणी भाषा गोवामा बोलिन्छ ।
कोस्टाको राजनीतिक सफलतालाई लिएर पोर्चुगल र भारत दुवै देशमा खुसी प्रकट गरिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोर्चुगलका प्रधानमन्त्री भएकोमा कोस्टालाई बधाई एवं शुभकामना प्रदान गरेका छन् ।
उनीसँग मिलेर काम गर्न आफू इच्छुक भएको मोदीले ट्विट गरेका छन् । यसैगरी गोवाका नेता एवं पूर्व उपमुख्यमन्त्री रमाकान्त खालापले एन्तोनियोको विजयले निकै खुसी भएको बताएका छन् । रमाकान्त खालापलले भने, ‘शासितहरू पनि शासक हुन सक्छन् भन्ने यो गतिलो प्रमाण हो ।’
एन्तोनियोका बाबु ओरल्यान्दो दा कोस्टा प्रतिष्ठित साहित्यकार पनि हुन् । उनले रवीन्द्रनाथ ठाकुरसँग पनि मिलेर काम गरेका थिए । उनको ‘साइन अफ एंगर’ भन्ने किताब निकै प्रख्यात निकै लोकप्रिय छ ।
उनी पोर्चुगिज कम्युनिस्ट पार्टीका सदस्य पनि हुन् । उनी उपनिवेश विरोधी आन्दोलनमा सरिक भएका थिए । पोर्चुगलले आफ्नो उपनिवेशमा आफ्नो भाषा र इसाई धर्मलाई अनिवार्य गर्न लागेको थियो ।
त्यसपछि प्रधानमन्त्री कोस्टाका बाजे हिन्दुबाट क्रिस्चियन धर्मावलम्बी बनेका थिए । धर्म परिवर्तनपछि उनको नाम लुइस अल्फोन्सो मारिया कोस्टा भएको थियो ।
ओरल्यान्दो १८ वर्षको उमेरमा गोवा छोडेर लिसबन बसाइ सरेका थिए । उनले पोर्चुगलमा मारिया एन्तोनियो पाजासँग विवाह गरेका थिए । त्यतिखेर मकाउ, भारतको गोवा र मोजाम्बिक लगायत अफ्रिकाका थुप्रै देश पोर्चुगलका उपनिवेश थिए ।
उसका उपनिवेशका बासिन्दाबीच आवतजावत र बसाइसराइ गर्नु निकै सामान्य थियो । गोवामा ४ सय ५१ वर्षसम्म पोर्चुगलले शासन गरेको थियो । सन् १९६१ डिसेम्बर १९ तारिखमा भारतीय सेनाले गोवाबाट पोर्चुगिज सेनालाई लखेटेको थियो ।















प्रतिक्रिया