
गौशाला, १२ मंसिर । महोत्तरी जिल्लाको सोनामाई गाविसमा अज्ञात समूहले पेट्रोल बम प्रहार गरी एक बोर्डिङ स्कुलमा आगजनी गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार शुक्रबार राति सोनामाई गाविस–२ मा अवस्थित एसएम ग्यालेक्सी इङ्लिस बोर्डिङ स्कुलमा गएराति अज्ञात समूहले पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् ।
आगजनीबाट सो विद्यालयका प्रधानाध्यापक बस्ने कोठाभित्रका दराज, फर्निचर, स्टेसनरीसहित केही महत्वपूर्ण कागजात नष्ट भएको प्रहरी नायब उपरीक्षक विनोद सिलवालले बताउनुभयो ।
गाउँभन्दा बाहिर जलेश्वर–बर्दिबास सडकखण्डको छेउमा रहेको सो विद्यालयमा मध्यरातमा भएको आगजनीबारे कसैले केही पनि थाहा पाउन सकेनन् ।
आगजनीबाट दुई लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ ।
मधेसी मोर्चाले तराईका जिल्लाहरूमा बिहानको समयमा विद्यालय र कलेज खोल्न दिने निर्णय गरेको थियो । तर अज्ञात समूहले विद्यालयमा पेट्रोल बम प्रहार गरेर मधेसी मोर्चाको निर्णयलाई लत्याइदिएको छ ।












प्रतिक्रिया