काठमाडौं, १२ मंसिर । तराई मधेस लोकतान्त्रिक पार्टी महामन्त्री एवम् संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्लाले सरकारका सहमति र सहकार्यको मार्गबाट विचलित हुँदै गएको आफूहरूले पाएको टिप्पणी गर्नुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा आज (शनिबार) बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै महामन्त्री शुक्लाले बाक्दै हुँदै आएको औपचारिक र अनौपचारिक वार्ता प्रक्रियालाई सरकारले अनावस्यक रुपमा रोकेर मुलुकलाई मुठभेडतर्फ लैजान थालेको आरोप लगाउनुभयो ।
‘सरकार वार्ताबाट समस्या समाधान होस् भन्ने चाहँदैन’, उहाँले भन्नुभयो, ‘सहमतिको प्रयासका लागि राज्यपक्षबाट अलि धेरै पहल हुनुपर्छ । समस्यालाई भड्काने खालका अभिव्यक्ति दिनु हुँदैन ।’
पछिल्लो समयमा राज्यपक्षले तराई मधेसमा सुरक्षाकर्मी परिचालन गरेर आन्दोलनमा दमन गर्न थालेको भन्दै महामन्त्री शुक्लाले चिन्ता जनाउनुभयो ।
‘मधेसको आन्दोलनमा जिम्मेवार बन्नुको साटो सरकार दमनमा उत्रियो’, उहाँले भन्नुभयो, ‘यो राम्रो भएन । वार्ता र सम्वादको वातावरण बिगार्छ ।’
राजनीतिक रुपमा मधेसको समस्या समाधान गर्न मधेसी मोर्चा प्रतिवद्ध रहेको दोहराउनु भएका शुक्लाले भन्नुभयो, ‘विपक्षी दल नेपाली कांग्रेस पनि छिटो निकास निस्कोस भन्ने पक्षमा हामीले पायौँ ।’












प्रतिक्रिया