२२ कार्तिक २०८३, आइतबार

‘प्रधानसेनापतिका भाईको पेट्रोल पम्प’मा सिलबन्दी, एकजना सञ्चालक समातिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol

– तीर्थ नेपाल
चितवन, ९ मंसिर । प्रधानसेनापति राजेन्द्र क्षेत्रीका भाई रविन्द्र क्षेत्रीको नाममा रहेको भरतपुरको अष्टभूजा आयल डिष्ट्रिव्यटरले तेल वितरणमा अनियमितता गरेको भन्दै वाणिज्य तथा आपूर्ति ब्यबस्थापन विभागले सिलबन्दी गरेको छ ।

तेल वितरणमा अनियमितता गरेको उजुरी परेपछि वाणिज्य तथा आपूर्ति व्यवस्थापन बिभागका निर्देशक हरिनारायण वेलवासेको टोलीले आज विहान भरतपुरको हाकिमचोकमा रहेको अष्टभूजा आयल डिष्ट्रिव्यटरमा ताला लगाउँदै सिलबन्दी गरेको हो ।

सो पेट्रोल पम्पलाई बिक्रि वितरणका लागी आयल निगमवाट आएको ९ हजार लिटर पेट्रोल मध्ये करिव १ हजार लिटर पेट्रोल अनियमितता देखिएको प्रारम्भिक अध्ययनवाट फेलापरेको विभागका निर्देशक वेलावासेले जानकारी दिनुभयो ।

‘९ हजार लिटर मध्ये ६ हजार सर्वसाधरणलाई र ३ हजार स्थानिय प्रशासनको अनुमतिमा अत्यावश्यकिय सेवाका लागी बिक्रि वितरण गर्न भनिएको थियो । तर, सर्वसाधरणलाई ताकिएको तेल बिक्रि वितरण नगरी लुकाएर अनुचित लाभ लिन खोजेको देखियो” – पम्पमा बिहान तालावन्दी गरेपछि निर्देशक बेलवासेले भन्नुभयो ।

तालाबन्दीपछि पम्पका सञ्चालक मध्येका खिलकान्त वर्तौलालाई पक्राउ गरिएको छ । उनलाई वाणिज्य विभागले थप अनुसन्धान र कार्वाहीका लागी चितवन प्रशासनलाई जिम्मा लगाएको छ ।

अष्टभूजा आयल डिष्ट्रिव्यटरले पारदर्शी तवरले तेल वितरण नगरेको, उपभोक्तालाई झुक्याएको, स्टक विवरण स्पष्ट नराखेको, मास्टर रिडिङ नगरेको र मेशिन कलाव्रेशन नगरेको पाइएको वाणिज्य विभागका निर्देशक वेलावासेले बताउनुभयो ।

हरेक पम्पले आफ्नो मौज्दातको मास्टर रिडिङ विहान वेलुका गर्नुपर्ने र मेशिनको कलाव्रेशन साउन मसान्त सम्म गरिसक्नुपर्ने प्रावधान रहेको छ । तर यस पम्पले साउन मसान्त वितेको चार महिना भईसक्दा पनि अटेर गरेर बसेको देखिएको बेलवासेले बताउनुभयो । कसुर ठहरिएमा कालोवजारी तथा केही अन्य सामाजिक अपराध ऐन–२०३२ अन्तरगत कार्वाही हुने छ ।

सो पेट्रोलपम्प प्रधानसेनापतिका भाई रविन्द्र क्षेत्रीको नाममा रहेपनि सञ्चालनको जिम्मा केही समय यता अरुलाई दिएका थिए ।