काठमाडौं, ९ मंसिर । नाकाबन्दी र मधेस आन्दोलनका कारण नुनको अभाव हुन थालेको भन्दै सर्वसाधारणले चिन्ता लिइरहेका बेला साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले भने मुलुकलाई पुग्ने प्रसस्त नुन मौज्दात रहेको जनाएको छ ।
साल्ट ट्रेडिङले मुलुकलाई छ महिना पुग्ने नुन मौज्दात रहेको जनाएको हो । साल्ट ट्रेडिङका डिभिज्नल म्यानेजर ब्रजेशकुमार झाले साल्ट ट्रेडिङका सबै डिपोहरूमा छ महिनालाई पुग्ने नुन रहेको बताउनुभयो । ‘साल्ट ट्रेडिङको मुलुकभरि रहेका गोदाममा छ महिनासम्म पुग्ने नुन उपलब्ध छ’, उहाँले भन्नुभयो, ‘नुनका लागि कुनै चिन्ता लिनुपर्दैन ।’
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले राजधानीका लागि पनि उल्लेख्य नुन मौज्दात राखेको छ । बजारमा नुनको अभाव हुन नदिन कालीमाटीस्थित केन्द्रीय कार्यालयमा पनि कर्पोरेशनले मौज्दात राखेको जनाएको छ ।
कर्पोरेशनको बनेपा, भैरहवा, जनकपुर, नारायणगढ, वीरगञ्ज, विराटनगर, वित्र्तामोड, लहान, राजविराज, हेटौँडा, नेपालगञ्ज, धनगढी, महेन्द्रनगर, सुर्खेत, दाङ, बागलुङ र पोखराका कार्यालयहरूमा नुन प्रसस्त रहेको डिभिज्नल म्यानेजर झाले बताउनुभयो । नुन अभाव भएमा यी कार्यालयहरूमा सर्वसाधारण पुगे सहज रुपमा उपलब्ध हुने उहाँको भनाइ छ ।
त्यसै गरी ढुवानीमा सरकारी अनुदान पाउने २२ जिल्लाका लागि पनि नुन छ महिनाका लागि पुग्ने मौज्दात राखिएको छ । ढुवानीमा अनुदान पाउने जिल्लाहरूमा कर्णालीका पाँच, मनाङ, मुस्ताङ तथा गोरखा, धादिङ र ताप्लेजुङका उत्तरी क्षेत्रलगायतका जिल्लाका लागि पनि प्रसस्त नुन मौज्दात राखिएको छ ।
बजारमा आयो नुन प्रतिकिलो १८ रुपियाँ किन्न पाइन्छ । कर्पोरेशनले बजारमा नुन अभाव भए कालीमाटीस्थित केन्द्रीय कार्यालयको ०१४२७०९९४ मा जानकारी गराउन आग्रह गरेको छ । नुन नपाएको कसैको गुनासो आए त्यसमा छानविन गर्ने कर्पोशनले तयारी गरेको छ ।
नाकाबन्दी र मधेस आन्दोलनलाई देखाएर मध्य तथा सुदूरपश्चिमका केही जिल्ला र राजधानीमा नुनको अभाव भएको हल्ला व्यापारी फिजाएका छन् । नुन अभाव छ भनेर फिजाएको हल्लामा कुनै सत्यता नरहेको झाले बताउनुभयो ।
‘हामीसँग मुलुकलाई छ महिनासम्म पुग्ने नुन मौज्दात छ’, उहाँले भन्नुभयो, ‘बरु इन्धनका कारण नुन सम्बन्धित स्थानसम्म पुगाउन समस्या भने परेको छ ।’
डिभिज्नल म्यानेजर झाले नुन अभाव भएमा साल्ट ट्रेडिङका कार्यालयमा पुगेर सर्वसाधारणले जति पनि लिन सक्ने बताउनुभयो । ‘नुनको अभाव हुन नदिन र कालोबजार रोक्न हामी सचेत छौँ’, उहाँले भन्नुभयो, ‘नुनलाई लिएर उपभोक्ता डराउनुपर्ने कुनै कारण छैन ।’













प्रतिक्रिया