काठमाडौँ, ७ मङ्सिर । सभामुख ओनसरी घर्तीले हालको इन्धन सङ्कट समाधान गर्न चीन सरकारले गरेको सहयोगले नेपाली जनतालाई खुसी बनाएको बताउनुभएको छ ।
व्यवस्थापिका-संसद् सचिवालयमा नेपालका लागि चीनका राजदूत वु चुन्ताइसँग भएको भेटवार्तामा उहाँले चीनले नेपाललाई विगत लामोसमयदेखि एक असल मित्रका रुपमा व्यवहार गर्ने गरेको स्मरण गर्दै उहाँले आगामी दिनमा दुई मुलुककाबीच अझ मजबूत सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गर्नुभयो ।
दुई देशका संसद्बीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन आफू उत्सुक रहेको भन्दै सभामुख घर्तीले दुवै मुलुकका संसद् सदस्यबीच भ्रमणको आदानप्रदानलाई निरन्तरता दिँदै आपसी सम्बन्ध अझ विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।
भूकम्पका कारण नेपालले भोग्नुपरेको क्षतिमा चीन सरकारले भौतिक रुपमै उपस्थित भई गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उहाँले चिनियाँ सरकारले नयाँ संविधानको स्वागत गरेकोमा समेत खुसी र आभार व्यक्त गर्नुभयो ।
सो अवसरमा राजदूत चुन्ताईले नेपालमा परेको भूकम्पको महाविपत्तीले जनतामा परेको दुःखप्रति सहानुभूति व्यक्त गर्दै जनतालाई राहत प्रदान गर्न र पुनःनिर्माणमा सहयोग गर्न तयार रहेको धारणा राख्नुभयो ।
दुई मुलुकबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वर्षमा विभिन्न कार्यक्रम गरी मनाइरहेको स्मरण गर्दै राजदूत चुन्ताईले आगामी दिनमा द्विपक्षीय सम्बन्ध अझ प्रगाढ हुँदै जाने कुरामा विश्वस्त रहेको विचार व्यक्त गर्नुभयो ।
चीन सरकारको सहयोगमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा भूकम्पका कारण भएको क्षतिको मूल्याङ्कन गरी भवनभित्र रहेका सामग्रीलाई अझ आधुनिक उपकरण जडान गरी सुविधासम्पन्न हुनेगरी पुनःनिर्माण गर्न इच्छुक रहेको राजदूतको भनाइ रहेको सभामुख घर्तीका निजी सचिव सुरजकुमार दुराले जानकारी दिनुभयो ।
सो अवसरमा व्यवस्थापिका-संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भटृराई, सचिव र परराष्ट्र मन्त्रालयका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो । रासस












प्रतिक्रिया