काठमाडौं, ७ मंसिर । भारतको नाकाबन्दीको प्रत्यक्ष असर सर्वसाधारण मात्रै होइन, ठूला दलका ठूला नेताहरूसम्मलाई परेको छ ।
यसको प्रत्यक्ष पात्र बन्नुभएको छ नेपाली कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल । पौडेलको भान्सा खाना पकाउने ग्यास सक्किएको दुई हप्ताभन्दा बढी भइसकेको छ ।
पौडेलले चाहने हो भने आफ्नो शक्ति लगाएर खाना पकाउने ग्यास थुप्रै आफ्नो घरमा भित्र्याउन सक्नु हुन्छ ।
तर उहाँले नाकाबन्दीले सर्वसाधारण जनताले सास्ती बेहोर्नु परिरहेका बेला आफूले किन पदको दुरुपयोग गर्नेभन्दै दाउरामा खाना पकाउन आफ्नी पत्नीलाई आग्रह गर्नुभएको पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले बताउनुभयो ।
पौडेलले शक्तिको प्रयोग गरेर खाना पकाउने ग्यास नल्याउन पनि आफ्ना सहयोगीहरूलाई निर्देशन दिनुभएको छ । ‘अहिले मुलुक संकटमा छ । राष्ट्रिय संकटको बेला सबै मिलेर जानुपर्छ । पहिला जनताको मर्का बुझ्नु पर्छ’, पौडेलको भनाइ उदृत गर्दै सहयोगी अधिकारीले भन्नुभयो, ‘जुनदिन सहज हुन्छ त्यही दिनु ल्याउँला ।’
कार्यबाहक सभापति पौडेलका निजी सहयोगी अधिकारीले उपलब्ध गराएको तस्बिरअनुसार काठमाडौंको बोहराटारस्थित निवासमा पौडेलको परिवारका लागि आजकाल दाउरामा खाना पाक्ने गरेको छ ।
पौडेलले खाना पकाउने ग्यास खोज्न आफ्ना सहयोगीहरूलाई पठाउनुभएको थियो । सहज रुपमा कतै नपाएपछि पौडेलले दाउरामा पाकाएर खाने निर्णय गर्नुभएको हो ।
कार्यबाहक सभापति पौडेलको घरमा दुई हप्ताभन्दा बढी समयदेखि यसै गरी बिहान र बेलुकाको खाना दाउरामा पाक्ने गरेको सहयोगी अधिकारीले बताउनुभयो । (तस्बिर सौजन्य चिरञ्जीवी अधिकारी)












प्रतिक्रिया