काठमाडौं, ७ मंसिर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले भारतीय नाकाबन्दी र केपी ओली नेतृत्वको सरकारविरुद्ध भोलि मंगलबार राजधानीमा गर्ने प्रदर्शनको तयारी तीव्र रुपमा गरेको छ ।
राजधानीका विभिन्न स्थानमा प्रदर्शनको तयारी स्वरुप गोप्य भेला, बैठक र प्रचार प्रसारका कार्यक्रम गरिएको स्रोतको भनाइ छ । प्रदर्शनमा उल्लेख्य नेता तथा कार्यकता एवम् समर्थक ओराल्न विभिन्न योजनाहरू बनाइरहेको बुझिएको छ ।
विप्लव माओवादीका राजधानीमा रहेका नेता तथा अगुवा कार्यकर्ताहरूको उल्लेख्य उपस्थितिसहित भारतीय नाकाबन्दीविरुद्ध भोलि मंगलबार एक बजे रत्नपार्कस्थित शान्तिबाटीकामा प्रदर्शन हुँदैछ । प्रदर्शनका क्रममा विप्लव माओवादीले भारतीय हस्तक्षेप र नाकाबन्दीविरुद्ध कडा धारणा सार्वजनिक पनि गर्नेछ ।
वर्तमान सरकारलाई दलाल र तस्करहरूको सरकारको संज्ञा दिएको विप्लव माओवादीले सरकारले कालोबजारीलाई बढावा दिएर जनतालाई दुःख दिएको आरोप लगाएको छ ।
सरकारले जनतालाई सहज आपूर्ति गर्न नसकेको र कालोबजारीलाई पश्रय दिएको विरुद्ध पनि भण्डाफोर गरिने विप्लव माओवादीका एक नेताले जानकारी दिए ।












प्रतिक्रिया