काठमाडौं, ७ मंसिर । भारतीय नाकाबन्दी, मधेस र थारु आन्दोलन तथा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेससहित सत्तारुढ ठूला दलहरूको बैठक बस्दैछ ।
अहिले कही समयपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा मधेसी र थारु आन्दोलनकारीले उठाएका मागका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार कांग्रेसले समस्या समाधानका लागि अघि सारेको संविधान संशोधनको दुई प्रस्तावलाई अगाडि बढाउने विषयमा पनि छलफल हुनेछ ।
कांग्रेसले मधेसी र थारु आन्दोलनकारीका मागलाई सम्बोधन गर्न भन्दै आफ्नो नेतृत्वको सरकारका पालामा जनसंख्या र भौगालिक आधारमा निर्वाचन क्षेत्र निर्धारण गर्नु पर्ने तथा राज्यका हरेक क्षेत्रमा समानुपातिक र समावेशी प्रतिनिधित्व हुनुपर्ने विषय समेटिएको प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको छ ।
सो प्रस्तावलाई पारित गरिए त्यसबाट मधेसी मोर्चाको सीमाङ्कनबाहेकका सबै माग पूरा हुने कांग्रेसको दाबी छ ।
त्यसै गरी कांग्रेसले पूर्वसहमतिअनुसार भूकम्पबाट क्षति भएको संरचना पुनःनिर्माणका लागि बन्न लागेको पुनःनिर्माण प्राधिकरणको कार्यकारी निर्देशक आफूले नियुक्त गरेको व्यक्ति हुनुपर्ने अडान राख्दै आएको छ ।
त्यसै गरी भारतले लगाएको नाकाबन्दी र आपूर्ति व्यवस्था सहज बनाउने विषयमा पनि आजको बैठकले साझा धारणा बनाउने प्रयास गर्नेछ ।












प्रतिक्रिया