२२ कार्तिक २०८३, आइतबार

बालुवाटार बैठक सकियोः मधेस र नाकाबन्दी समाधानमा साझा धारणा बनाउने निर्णय

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Baluwatar-4-party-meeting

– विमल योगी
काठमाडौं, ६ मंसिर । वर्तमान संकटको अवस्थाबाट मुलुकलाई निकास दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठक सकिएको छ ।

बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दी समस्या समाधानका लागि सबै दलको साँझा धारणा बनाउने सहमति भएको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो- ‘मधेस आन्दोलन, संविधान शंसोधनको विषय र भारतबाट भएको पारवहन र आपूर्ति अवरोध लगायतका विषयमा छलफल भयो । सबै दलले आफ्नो धारणा राखे । अब मुलुकलाई निकास दिन साँझा धारणा बनाएर जाने सहमति भएको छ ।’

बैठकमा सहभागी एकीकृत नेकपा माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देश जटिल अवस्थामा भएकाले अहिलेको परिस्थितीलाई राष्ट्रिय समस्याको रुपमा लिएर समाधान गर्नुपर्ने विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो- अहिले परिस्थितीबाट देशलाई कसरी निकास दिने विषयमा छलफल भयो । सबै दलको धारणा एउटा बटम लाईन बनाएर जानुपर्छ भन्ने आयो ।’

उहाँले आजको बैठकले समस्या समाधानमा ठोस निष्कर्ष निकाल्न नसकेपछि निकासका लागि राजनीतिक तवरको वातावरण सिर्जना गरेको धारणा राख्नुभयो । ‘आज छलफल भयो । साँझा धारणा बनाउने कुरा पनि आयो । प्रधानमन्त्रीले छिट्टै अर्काे बैठक राखेर साँझा धारणा निकालेर राजनीतिक रुपमा समस्या समाधान गर्ने निर्णय भयो ।’

बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले बैठकमा आफूहरुले संविधान संशोधन गरौ भन्ने प्रस्ताव राखेको जानकारी दिनुभयो । ‘समस्या समाधानका लागि हामीले संविधान संशोधन प्रक्रिया अगाडि बढाउ भन्यौ । भूकम्पसम्बन्धी पुनर्निर्माण प्राधिकरण पनि अगाडि बढाउन आग्रह गरेका छौं’ उहाँले भन्नुभयो– नाकाबन्दी खोल्न भारतसँग कुटनीतिक पहल गर्न पनि सत्तापक्षसँग भन्यौ । बैठकमा मधेसी र थारुका मुद्दामा राजनीतिक सहमति गरेर अगाडि बढ्ने कुरा आएको छ । थप छलफल गरेर समस्या समाधानका लागि साँझा धारणा बनाउछौं ।’