काठमाडौँ, ६ मङ्सिर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसदमा पेस भएको संविधान संशोधन विधेयक तत्काल अघि बढाउन दबाब दिने भएको छ ।
काँग्रेस संसदीय दलको आजको बैठकले संविधान संशोधनको विधेयक यथाशीघ्र अघि बढाई तराई–मधेसमा भइरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारसँग माग गर्ने निर्णय गरेको छ । बैठकले काँग्रेस नेतृत्वको सरकारले व्यवस्थापिका–संसद्मा पेस गरेको संविधान संशोधन र भूकम्पपछिको पुनःनिर्माणसम्बन्धी विधेयक यथाशीघ्र पारित गर्न दबाब दिने निर्णय गरेको सांसद भरत खड्काले जानकारी दिनुभयो ।
कावा सभापति रामचन्द्र पौडेलले शनिबार सत्ता पक्ष र मधेसकेन्द्रित दलसँग भएका वार्ता र छलफलका बारेमा बैठकलाई जानकारी गराउनुभएको उहाँले बताउनुभयो ।
तराई–मधेसको आन्दोलनले मुलुकमा भयावह समस्या उत्पन्न भएको भन्दै बैठकले सत्तापक्ष दल र आन्दोलनरत पक्षलाई गम्भीर र लचकताका साथ वार्ता एवम् सहमतिद्वारा समस्या समाधान गर्न आग्रह गर्ने निर्णय गरेको छ ।
बैठकले शनिबार राति सप्तरीमा दुई आन्दोलनकारी मृत्यु भएको र एम्बुलेन्समा भएको आक्रमणको घटनाप्रति दुःख व्यक्त गर्दै दुवै पक्षलाई संयमित हुन आग्रह गरेको सांसद जगदीशनरसिंह केसीले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया