काठमाडौं, ५ मंसिर । साधारण मानिसभन्दा फरक क्षमताका बालक एवं नेपाली ‘गुगल ब्वाई’ आदित्य दाहाल तीन महिना लामो उपचारपछि अमेरिकाबाट स्वदेश फर्किएका छन् ।
शनिबार नेपाल फर्किएका आदित्यको विगत तीन महिनादेखि अमेरिकाको क्यालिफोर्नियास्थित स्टानफोर्ड अस्पतालमा उपचार भइरहेको थियो । उपचारपछि आदित्यको स्वास्थ्यमा सामान्य सुधार आएको आदित्य संरक्षण प्रतिष्ठानले जनाएको छ ।
नेपाल सरकार, अमेरिकास्थित नेपाली दूतावास तथा विभिन्न संघ संस्थाहरुको सहयोगमा उपचारका लागि आदित्य गत साउन ११ गते अमेरिका गएका थिए ।
आदित्यको शारीरिक दुर्बलतालाई चिकित्सकहरुले एनबीआई डिसअर्डर भएको अनुमान गरेका थिए । हालसम्म भएका परीक्षणहरुबाट प्राप्त रिपोर्ट अनुसार उनको रोग एनबीआइएका १३ प्रकारहरुमा समेत नपरेपछि चिकित्सकहरुले थप अनुसन्धानका लागि स्टानफोर्डका साथैै अमेरिकाका अन्य अस्पताल तथा प्रयोगशालाहरुमा समेत पठाएका छन् ।
सो परीक्षणको रिपोर्ट आउन थप ४-५ महिना लाग्ने भएपछि आदित्यकै आग्रहमा स्वदेश फर्केको उनका बुवा शेषराज दहालले जानकारी दिनुभयो ।
यसैबीच, नेपालमाथि भारतले लगाएको नाकाबन्दीबारे आदित्यले कुटनीतिक पहल र सहमति सहकार्यबाटै अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन् । नेपालको अहिलेको अवस्थाबारे आदित्यले भन्छन्- ‘खोई त, सहमतिको वातावरण निर्माण गर्ने पक्षमा किन नलागेको ? यसले दुर्घटना निम्त्याउँछ, सहमति बिना केही भन्ने अवस्था देखिनँ ।’













प्रतिक्रिया