– विमल योगी
काठमाडौं, ४ मंसिर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता दिलेन्द्र बडूले मधेसवादी दलसँग वार्ता गर्न सत्तारुढ दलले नै नचाँहेको बताउनुभएको छ ।
कांग्रेस केन्द्रीय पदाधिकारी बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीलाई निर्णय सुनाउँदै प्रवक्ता बडूले उच्चस्तरीय राजनीतिक टोलीका संयोजक एवं एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्णायक वार्ता भनि प्रचारबाजी गरेर भड्काउने काम गरेको आरोप लगाउनुभयो ।
उहाँले भन्नुभयो- सत्तारुढ दलहरुका बीचमा छलफल नगरी, धारणा स्पष्ट नबनाई कनै वार्ता गर्छु भन्ने राजनीतिक वार्ता टोलीका संयोजक प्रचण्डजीले प्रचारबाजी धेरै गर्नुभो । वार्ता र सम्वादको विषयलाई हल्काफुल्का रुपमा लिएको कांग्रेसको ठहर छ । भड्काउने काम भएको छ । जून कदममा कांग्रेस सचेत छ ।
उहाँले आफ्नो सत्तारुढ दलमा धारणा स्पष्ट बनाएर जिम्मेवार बनेर वार्तामा आउन प्रचण्डलाई आग्रह समेत गर्नुभयो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित वार्ता टोलीले सत्तारुढ दलभित्रै छलफल र सहमति नगरी मधेसवादी दलसँग निर्णायक वार्ता गर्ने भनि राखेको बैठकमा कांग्रेस अनुपस्थित भयो भन्ने सस्तो प्रचारबाजी गरेको कांग्रेसको आरोप छ ।
यस्तै, राष्ट्र बैंकमा एमाले निकट कर्मचारी संगठनले लामो समयदेखि सेवा सुविधा बढाउन माग गर्भनरमाथि गरेको दुर्व्यवहारको कांग्रेसले घोर भर्त्सना गरेको छ ।
केही समययता सत्तारुढ दल नेकपा एमाले निकट कर्मचारीहरुले सेवासुविधा बढाउन माग गर्दै गर्भनर डा. चिरिञ्जिवी नेपालमाथि दुर्व्यवहार तथा काम गर्न दिएका छैनन् ।
साथै कांग्रेसले सत्तारुढ दल एमालेलाई आफ्ना कार्यकर्ता सम्हाल्न आग्रह समेत गरेको छ ।













प्रतिक्रिया