काठमाडौं, ३० कात्तिक । नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री रामशरण महतले प्रधानमन्त्री केपी ओलीद्वारा देशवासीका नाममा दिइएको सन्देशमा मुलुक चलाउने ‘एक्सन प्लान’ नै नआएको कडा टिप्पणी गर्नुभएको छ ।
नेता महतले भन्नुभयो, ‘सम्बोधनमा मैले केपी ओली जीको एक्सन प्लान नै देखिन । मुलुक चलाउन एक्सन प्लान चाहिन्छ ।’
नेपालवाणी रेडियोमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै नेता महतले ओलीको सन्देश राष्ट्र प्रमुखले दिने सामान्य विषय जस्तो रहेको बताउनुभयो । उहाँले मुलुकलाई अहिलेको समस्याबाट निकास दिने कुनै कुरा स्पष्ट नरहको बताउनुभयो ।
भारतले नेपालमा लगाएको नाकाबन्दीको विरोध गर्नुभएका पूर्व अर्थमन्त्री महतले भारतबाट नेपाली जनताले यस्तो अपेक्षा कहिल्यै नगरेको उल्लेख गर्नुभयो ।
‘भारतबाट यस्तो अपेक्षा गरेका थिएनौँ’, उहाँले भन्नुभयो, ‘भारतलाई नै दीर्घकालमा बेफाइदा हुन्छ ।’ उहाँले मुलुकमा देखिएको इन्धन, औषधिलगायतका आपूर्ति बैकल्पीक मार्गबाट छिटो ल्याउन सरकारलाई सुझाव दिनुभयो ।
‘भारतसँग कुटनीतिक पहल गरेर समस्याको समाधान खोज्नुपर्छ’, उहाँले भन्नुभयो, ‘बैकल्पीक व्यवस्था जताबाट गरे पनि भारतबाट नल्याएसम्म सबै आपूर्ति पूरा हुन सक्दैन ।’












प्रतिक्रिया