काठमाडौं, २९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय पदाधिकारी बैठक सकिएको छ ।
विहान १० बजेदेखि सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बसेको बैठकले मधेस आन्दोलन र भारतको नाकाबन्दी हटाएर मुलुकलाई निकास दिन पाँच वटा निर्णय गरेको छ ।
बैठकमा मधेसी मोर्चाको माग पुरा गराउन संसदमा मिलेर जाने, कोइराला सरकारको पालामा कांग्रेसले संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव पारित गराउने, सबै सरोकारवाला निकायसँग छलफल गर्ने, भारतको नाकाबन्दी अन्त्य गर्ने र मुलुकलाई निकास दिन विशेष पहल गर्ने निर्णय भएको कांग्रेसका कार्यवहाक सभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो । उहाँले भन्नुभयो- ‘कांग्रेस आफ्नै पहलमा देशको पछिल्लो गतिरोध अन्त्य गरी निकास दिन्छ ।’
यसअघि शनिबार कांग्रेस र मधेसवादी दलबीच भएको वार्तामा मधेसी मोर्चाले कांग्रेसलाई मधेस आन्दोलनबारे आफ्नो धारणा स्पष्ट पार्न भनेको थियो । हिजोको बैठकमा कांग्रेस र मधेसवादी दलबीच माग सम्बोधनका लागि संसदमा मिलेर जाने सहमति भएको थियो ।
आजको बैठकमा कार्यवहाक सभापति रामचन्द्र पौडेल, वरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्री प्रकाशमान सिंह लगायतका नेता सहभागी हुनुहुन्थ्यो ।












प्रतिक्रिया