२२ कार्तिक २०८३, आइतबार

नाकाबन्दी आज-भोलिमै समाधान हुँदैन, छिटो बिकल्प नखोजे विष्फोट हुन्छ : एमाले

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

DSCN7838काठमाडौं, २६ कात्तिक । एमालेका बरिष्ठ नेता झलनाथ खनालले नेपाली कांग्रेस र एमालेको गठबन्धन तोडिनु दुर्भाग्यपूर्ण भएको भन्दै दुई दल नमिले मुलुक दुर्घटनामा फस्ने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले आज उहाँकै निवासमा आयोजना गरेको अन्तरक्रियात्मक देउँसी भैलोमा बोल्दै खनालले अहिलेको मुलुकको संकट सामना गर्न कांग्रेस र एमाले मिल्नुको विकल्प नभएको बताउनुभयो ।

खनालले संघीयतामा नयाँ ढंगले सोँच्नुपर्ने आवश्यकता औल्याउँदै अहिले माग भइरहेको आधार प्रदेशको सिमाङ्कन मिलाउन गाह्रो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संघीयता कहाँबाट पस्यो त्यही मूल्याङ्कन गर्नुपर्छ । संघीयतामा जाने हो भने मधेसमा दुई, पहाडमा यति भन्नु मुलुकको हितमा छैन । मेचीबाट महाकालीसम्म प्रदेशले समस्याको समाधान गर्दैन र देशको हित पनि हुँदैन ।’

खनालले पाँच विकास क्षेत्रलाई नै पाँच प्रदेश बनाउँदा न्यूनतम कुरा मिल्न सक्ने भन्दै अन्यथा संघीयताको नाममा अझै कति रगत बगाउनु पर्ने हो थाहाँ नभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मधेसीलाई मधेस, पहाडीलाई पहाड र हिमालीलाई हिमाली बाहेक अरु किन हुँदैन भन्ने कुरा थोत्रो, नचाहिदो र अब्यवहारिक तर्क हो । संघीयतामा हामी नयाँ प्रयोगमा छौ । पशुपतिनाथसँग कामना गरौ कि यो सफल होस ।’

खनालले नाकाबन्दीको समस्या आज भोलिमै समाधान हुने स्थिति नभएको भन्दै नाकाबन्दीबाट उत्पन्न चुनौती सामना गर्न र यसमा परिवर्तन गर्न हर मूल्य चुकाउन सरकारले काम गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘नाकाबन्दी लम्बिए जनतालाई तयार पार्नु पर्छ । यही उत्पादन गर्ने योजना, सम्बन्धको विविधिकरण, चीनसँगको सम्बन्ध विकसित गर्नुपर्छ । यो सरकारको काम हो । दसैँ अभावमा गयो, तिहार पनि अभावको विचमा छ । औषधि छैन, उद्योग बन्द छ, बजार ठप्प छ, विद्यालय बन्द छ । यो दुःखदायी अवस्थामा परिवर्तन गर्न हल मूल्य चुकाएर सरकारले काम गर्नुपर्छ । नभए सरकारप्रति असन्तुष्टी बढ्न सक्छ ।’

खनालले संविधान जारी भएको खुसीयाली राम्ररी फक्रन नपाउँदै छिमेकी भारतले नाकाबन्दी लगाएको भन्दै नाकाबन्दीले सबै सन्धी सम्झौताको उल्लघन गरेको दावी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘सिंगो विश्व चिन्तित छ । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले पनि चिन्ता ब्यक्त गरिसक्नु भएको छ । तर पनि किन छिमेकी भारतले नाकाबन्दी अन्त्य गर्न किन सकिरहेको छैन ।’