काठमाडौं, २६ कात्तिक । नेपाल संवत् ११३६ आज विभिन्न स्थानमा कार्यक्रम गरी मनाइँदैछ ।
राष्ट्रिय विभूति शंखधर साख्वाले विक्रम संवत ९३६ र इस्वी संवत ८७९ अक्टोबर २० मा गरिब जनताको ऋणमोचन गरी नेपाल संवतको सुरुआत गराउनुभएको थियो ।
नेपाल संवतले चन्द्रशम्शेरको शासनकाल विक्रम संवत १९६० अघिसम्म राष्ट्रिय संवतको मान्यता पाएको संस्कृतिविद् सत्यमोहन जोशीले जानकारी दिनुभयो ।
‘लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् राणाशासनसम्म मौलिक संवतका रुपमा चलेको थियो, लिच्छविकालअघि शक संवत् प्रचलनमा थियो, नेपाल देशको नामबाट राखिएकाले यो मौलिक संवत् हो’, उहाँले भन्नुभयो ।
विक्रम संवत १९६० देखि भने नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिन छाडिएको थियो । राणा शासनको अन्त्य भई २००७ सालमा प्रजातन्त्रको स्थापना भएदेखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।
नेपाल संवतलाई नयाँ वर्षका रुपमा काठमाडौं, ललितपुर, भक्तपुर, नुवाकोट, दोलखालगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेष रुपमा मनाउने गरिन्छ ।
गरिब जनताको ऋण मोचन गराई सामाजिक सेवाको उत्कृष्ट नमुना प्रस्तुत गरेको र नेपालमा मौलिक संवत् समेत चलाएको कार्यको उच्च मूल्याङ्कन गर्दै २०५६ साल मंसिर २ गते सरकारले साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको थियो भने २०६५ कात्तिक ७ गते नेपाल संवत्लाई मान्यता दिएको थियो ।
आत्मपूजा
आजैको दिन नेवार समुदायमा मानिसको शरीर नै देवता हो भन्ने मान्यताका साथ म्हपूजासमेत गरिन्छ ।
आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।
आगलागीबाट बचेको खुसियालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन सुरु गरेको पनि इतिहासकारले बताएका छन् । रासस












प्रतिक्रिया