काठमाडौं, २५ कात्तिक । नेपाली कांग्रेसका नेता रमेश लेखकले मधेसी मोर्चा वा थारु आन्दोलनकारीले माग गरेर जसरी सिमाङ्कनमा हेरफेर नहुने बताउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग आज बिहान कुरा गर्दै लेखकले भन्नुभयो, ‘थारु र मधेसीले उठाएका मागलाई सम्बोधन गरिनुपर्छ । राजनीतिक सहमति गरेर ल्याइएको अहिलेको सिमाङ्कनमा हेरफेर हुँदैन ।’
उहाँले सिमाङ्कनका बारेमा राजनीतिक दलहरूका बीच सहमति भएर संविधान जारी भएको बताउनुभयो ।
‘यो संविधान कार्यान्वयन नगर्दै संशोधन गर्नु अरु समस्या पनि व्युझाउनु हो’, उहाँले भन्नुभयो, ‘यो अत्यन्तै अनावश्यक कुरा हो । जातीय राज्यको पक्षमा कांग्रेस छैन ।’
कैलाली र कञ्चनपुरलाई छुट्टिन नदिने कांग्रेस नेता लेखकको भनाइ छ । ‘बर्दियामा थारु र पहाडी समुदाय मिलेर बस्न सक्छ ।
कञ्चलनपुरमा मिलेर बस्न हुन्न ?’, लेखकले भन्नुभयो, ‘एक समुदाय अर्को समुदायसँग मिलेर बस्न सक्दैन भन्नु गलत हो । मुलुक र समाजका लागि यो सबैभन्दा घातक छ ।’
नेता लेखकले कांग्रेस जातीय राज्यको पक्षमा नलाग्ने उल्लेख गर्नुभयो । ‘हामी जातीय राज्यका पक्षमा छैनौ’, उहाँले भन्नुभयो, ‘सहमतिमा भएको सिमाङ्कन अहिले संशोधन हुँदैन ।’
भारतले लगाएको नाकाबन्दीले समस्या उत्पन्न भएको भन्दै लेखकले कुटनीतिक र राजनीतिक पहलद्वारा समाधान खोज्नु पर्ने बताउनुभयो ।












प्रतिक्रिया