काठमाडौँ, २३ कात्तिक । नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले भारतले गरेको अघोषित नाकाबन्दीले उब्जाएको समस्याको सबै दल एकजुट भएर सामना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल प्रेस युनियन महिला विभागद्वारा आज यहाँ आयोजित दीपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपाल–भारतबीच सदियौँदेखिको सम्बन्ध रहिआएकाले भारतले अघोषित रुपमा नाकाबन्दी गर्नु उचित नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “काँगे्रसले नेपालमै उपलब्ध स्रोत, साधन उपयोग गरी आत्मनिर्भर बन्नेतर्फ सबै दलसँग बहस सुरु गर्ने तयारी गरेको छ ।” छिमेकीलाई दोष दिनुभन्दा आफ्नै खुट्टामा उभिन सबै दल एकसाथ अगाडि बढ्नुपर्ने बताउँदै महामन्त्री सिंहले सविधान कार्यान्वयन, तराईको समस्या हल गर्न र सविधान संशोधनलगायत समस्या समाधानका लागि काँग्रेसले सहयोग गर्ने जानकारी दिनुभयो ।
काँग्रेसका प्रचार विभाग प्रमुख डा मीनेन्द्र रिजालले नेपाल–भारतको पुरानो सम्बन्ध बचाइराख्न दुवै देशका नेताले पहल गर्नुपर्ने बताउनुभयो । उहाँले नयाँ सरकारले खाली प्रतिशोध लिएर पुरानो सरकारले थालेका राम्रा कामलाई निरन्तरता नदिएको आरोप लगाउँदै भन्नुभयो, “भूकम्प आएको छ महिना बित्दा पनि पीडितले राहत पाएका छैनन्, वर्तमान सरकारले पीडितलाई राहत दिनेतर्फ कदम चाल्नुपर्छ ।”
काँग्रेसका नेत्री सुजाता कोइरालाले भूकम्पले दिएको पीडा नसकिदै भारतले अघोषित रुपमा नाकाबन्दी गरी नेपालीलाई थप पीडा दिएको बताउनुभयो । उहाँले हिमाल, पहाड, तराईलाई फुटाउन तल्लीन शक्तिलाई परास्त गर्न राष्ट्रिय एकता कायम गर्दै अब काँगे्रस अगाडि बढ्नुपर्छ भन्नुभयो ।
कार्यक्रममा सूचना आयोगका आयुक्त किरण पोखरेल, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देल, महिला विभाग प्रमुख बाला अधिकारीलगायतले आपूर्ति समस्या समयमा सुल्झाउन सरकारलाई आग्रह गर्नुभएको थियो । रासस












प्रतिक्रिया