२२ कार्तिक २०८३, आइतबार

भारतीय नाकाबन्दी अन्तर्राष्ट्रिय कानुन विपरीत : सभापति कोइराला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-Koirala-Congres-Nepaअमेरिका (क्यालिफोर्निया), २३ कात्तिक । पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति सुशील कोइराला उपचारका लागि आइतबार अमेरिकाको न्युयोर्क आइपुग्नुभएको छ ।

कांग्रेसको भ्रातृ सङ्गठन नेपाली जनसम्पर्क समितिका कार्यकर्ता तथा राष्ट्रसंघीय नेपाली नियोगका कर्मचारीहरूले कोइरालालाई जोन अफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलमा पत्रकारसँगको संक्षिप्त कुराकानीमा सभापति कोइरालाले भारतले नेपालमाथि गरिरहेको अघोषित नाकाबन्दी गलत र अन्तर्राष्ट्रिय कानुन विपरीत रहेको बताउनुभयो । उहाँले यो समस्यालाई कूटनीतिक पहलमा नै समाधान गर्नुपर्ने धारणा राख्नु भयो ।

प्रधानमन्त्री पदको उम्मेदवारीको विषयमा प्रस्ट पार्दै सभापति कोइरालाले आफूले कसैको दबाब र करकापमा नभई पार्टीको निर्णयअनुसार उम्मेदवारी दिएको बताउनुभयो ।

‘सार्वभौम देशको सबैभन्दा ठूलो प्रजातान्त्रिक पार्टीले लिएका कैयन निर्णयहरू वर्तमानमा नराम्रा देखिए पनि दीर्घकालीन रूपमा यिनै निर्णयहरू सही र दूरगामी प्रभाव पार्ने देखिएका छन्’, उहाँले भन्नु भयो ।

कोइरालाको आजबाट मेमोरियल स्लोन केटरिङ क्यान्सर सेन्टरमा उपचार सुरु हुने र यसपश्चात् राष्ट्रसंघका महासचिव वान कि मुन तथा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूलाई समेत भेट्ने कार्यक्रम रहेको जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द विष्टले बताउनुभयो । रासस