– निशानदाजु भट्टराई
दाङ, २२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारमा जाने संकेत गरेको छ ।
पार्टीभित्रको आन्तरिक कलहले अहिलेसम्म सरकारमा सहभागी हुन नसकेको राप्रपा पार्टीभित्रको आन्तरिक कलहलाई ब्यवस्थापन गरी सरकारमा जाने तयारी गरिरहेको नेता सुनिलबहादुर थापाले बताउनुभयो ।
पूर्व वाणिज्य तथा आपुर्तिमन्त्री थापाले पार्टीभित्रको नेतृत्वको विवादले सरकारमा जाने नजाने विषयमा अलमल भएपनि अहिले पार्टी सरकारमा जाने विषयमा कुनै विवाद नरहेको स्पष्ट पार्नुभयो । आइतबार दैनिक नेपालसँग कुराकानी गर्दै पूर्वमन्त्री थापाले पार्टीबाट कसले सरकारको नेतृत्व गर्ने विषयमा विवाद हुँदा पनि प्रधानमन्त्री ओली नेतृत्व सरकारमा जान ढिलाई भएको स्पष्ट पार्नुभयो ।
‘सरकारमा जाने भन्ने विषयमा हाम्रो पार्टीभित्र कुनै विवाद पनि छैन, पार्टीबाट आधिकारीक रुपमा कसले सरकारको नेतृत्व गर्ने विषयमा नेतृत्व तहमा विवाद हुँदा केही समस्या उत्पन्न भएको छ,’ उहाँले भन्नुभयो– ‘यो पनि हामी पार्टीको बैठक बसेर छिटो भन्दा छिटो टुङग्याउछौं ।’
फरक प्रसंगमा उहाँले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा आफूले तत्कालिन वाणिज्य तथा आपूर्तिमन्त्रीको हैसियतमा भारतलाई इन्धन सहजरुपमा आपूर्ति गर्ने ब्यवस्था मिलाउन आग्रह गरेपनि त्यो नभएको बताउनुभयो । सो समयमा आफूले गरेको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेर सीमामा भइरहेको अवरोध हटाई इन्धनको आपूर्ति गर्न अनुरोध गरेको जनाउँदै यस विषयमा मोदीले चाँसो नदिँदा र बाचा पुरा नगर्दा भारत र नेपालबीच समस्या उत्पन्न भएको बताउनुभयो ।
‘नेपाल र भारतबीचको सदियौदेखिको सम्बन्ध छ, तर, भारतले सीमामा भइरहेको अवरोध हटाई इन्धन आपूर्ति गर्ने ब्यवस्था नमिलाउँदा दुई देशबीचको सम्बन्ध थप विग्रदै गएको छ’ थापाले भन्नुभयो– ‘नेपाली राजनीतिक समस्या आफै समाधान गर्न नेपालीहरु सक्षम छन्, तत्काल भारतीय प्रधानमन्त्री मोदीले नाकामा भइरहेको अवरोध हटाई इन्धनदेखि दैनिक उपभोग्य बस्तु आपूर्ति ब्यवस्था सहज बनाउन जरुरी छ ।’













प्रतिक्रिया