२२ कार्तिक २०८३, आइतबार

कांग्रेसद्वारा संविधान संशोधन प्रस्ताव ल्याउन ओली सरकारलाई दवाव

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्बिर
फाइल तस्बिर

काठमाडौं, २२ कात्तिक । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले आफ्नो सरकारका पालामा संसदमा दर्ता गराएको संविधान संशोधनसम्बन्धी प्रस्तावलाई अगाडि बढाउन जोडदार माग गरेको छ ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा आज (आइबार) बसेको संसदीय दलको बैठकले आफूहरूले पेश गरेको संशोधन प्रस्तावलाई वर्तमान सरकारले अगाडि बढाउनु पर्ने निर्णय गरेको हो ।

बैठकका विषयमा जानकारी दिँदै कांग्रेस सांसद पार्वती डिसी चौधरीले मधेसी र थारुहरूले उठाएका मागलाई सम्बोधन गर्न संविधान संशोधनको प्रस्तावलाई अगाडि बढाउने निर्णय गरेको बताउनुभयो ।

‘सुशील कोइराला प्रधानमन्त्री रहेका बेला संसदमा पेश भएको संशोधन प्रस्तावलाई अहिलेको सरकारले अगाडि बढाउनु पर्छ’, उहाँले भन्नुभयो, ‘राज्यका हेरक क्षेत्रमा समानुपातिक र समावेशी प्रतिनिधित्व तथा जनसंख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारणको विषय रहेको छ ।’

यद्यपि, कांग्रेसले तत्काल संसद बैठक अबरोध नगर्ने निर्णय गरेको छ । माग पूरा गराउन राजनीतिक रुपमा दबाव दिने जनाएको कांग्रेसले सरकारलाई गुण र दोषका आधारमा रचनात्मक प्रतिपक्षका रुपमा समर्थन गर्ने निर्णय गरेको सांसद चौधरीले उल्लेख गर्नुभयो ।

आफ्नो नेतृत्वको सरकारका पालामा मधेसी र थारुले उठाएका मागलाई सम्बोधन गर्न कांग्रेसले संशोधन प्रस्ताव संसद सचिवालयमा दर्ता गराएको थियो । तर सो प्रस्तावप्रति सत्तारुढ दल एमाले सकारात्मक छैन । एमालेले कांग्रेसको सो प्रस्तावलाई छलफल गरेर लैजानु पर्ने जनाउँदै आएको छ । एकीकृत माओवादीले भने सो प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएको छ ।

बैठकमा सांसदहरूले भारतले नेपालमा अघोषित रुपमा नाकाबन्दी लगाएको भन्दै त्यसलाई राजनीतिक र कुटनीतिक रुपमा समाधान गर्नुपर्ने माग गरेका थिए । उनीहरू थारु र मधेसका मागलाई छिटो समाधान गर्न पनि माग गरे ।

जवाफमा कार्यबाहक सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवाले कांग्रेस थारु र मधेसीका मात्रै नभइ सबै उत्पीडित जातजाति र वर्ग समुदायको अधिकारका लागि सधैँ संघर्ष गर्दै आएको बताएका थिए ।

उनीहरूले नाकाबन्दीका विषयमा कांग्रेसले स्पष्ट भनिसकेकोले यसलाई कुटनीतिक र राजनीतिक पहलमार्फत टुङ्ग्याउनु पर्ने धारणा राखेको सांसद चौधरीले बताउनुभयो ।