काठमाडौँ, २२ कात्तिक । नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले राष्ट्रिय स्वाभिमानको शिर झुक्न नदिन सुदृढ राष्ट्रिय एकता हुनुपर्ने बताउनुभएको छ ।
एमाले काठमाडौँ २ नं क्षेत्रले दीपावली, नेपाल संवत् ११३६, छठ र ल्होसारको उपलक्ष्यमा शनिबार थलीमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान समारोहलाई सम्बोधन गर्दै नेता पोखरेलले सो कुरा बताउनुभएको हो ।
“यो सरकारले राष्ट्रिय स्वाभिमान र एकताका पक्षधरसँग सहकार्य गर्छ, संविधानको कार्यान्वयन गर्न चाहनेसँग हातेमालो गर्छ, कुनै पनि दल र नेतालाई अतित होइन वर्तमानका गतिविधिबाट हेर्छ” – उहाँले भन्नुभयो – “अहिले राष्ट्रले भोगेका कुरालाई सरकारले जस्ताको त्यस्तै जनतासमक्ष ल्याउँछ, सरकारको रोडम्याप छिट्टै सार्वजनिक गर्ने गृहकार्यसमेत भएको छ ।”
विदेशी भूमि र दशगजामा बसी वितन्डा मच्चाएर संविधान संशोधन नहुने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्नसमेत उहाँले आन्दोलनरत पक्षलाई आग्रह गर्नुभयो । संविधानसभाबाट घोषणा गरिएको नेपालको संविधान विश्वकै सबैभन्दा उदार भएको दाबीसमेत उहाँले गर्नुभयो ।
समारोहमा पोलिटब्युरो सदस्य सानुकुमार श्रेष्ठले फागुन चैतमै स्थानीय निकायको निर्वाचन गरी तल्लो तहदेखि लोकतान्त्रिक अभ्यास गरिनुपर्ने माग गर्नुभयो ।
सांसद रामेश्वर फुयाँलले संविधानका विषयमा तराईका जनतामा भ्रम छरी आफ्नो स्वार्थ पूरा गर्न चाहने शक्ति सक्रिय भएकाले तराईमै गएर जनचेतना जगाउनुपर्ने बताउनुभयो । रासस













प्रतिक्रिया