काठमाडौं, २१ कात्तिक । तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष हृदयश त्रिपाठीले वर्तमान सरकारले मधेसी र थारुको आन्दोलनलाई दमन गरेर तह लगाउन चाहेको आरोप लगाउनुभएको छ ।
नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै त्रिपाठीले माग सम्बोधन गर्नेभन्दा पनि दमनको क्रियाकलापमा सरकार लागेको बताउनुभयो ।
‘इतिहासमा अभूतिपूर्व राष्ट्रवादीहरूको गठबन्धनमा सरकार बनेको छ’, व्याङ्ग्य गर्दै उहाँले भन्नुभयो, ‘सरकार थारु र मधेसीका माग सम्बोधन गर्नेभन्दा पनि दमन गरेर तह लगाउन चाहन्छ ।’
नाकाबन्दीबाट भएको आपूर्ति व्यवस्था सहज बनाउने दायित्व सरकारको रहेको बताउनुभएका तमलोपा सहअध्यक्ष त्रिपाठीले भन्नुभयो, ‘वर्तमान सरकारले भारतलाई छाडेर चीनसँग सम्झौता गरेको छ । चीनबाट तेल ल्याउँदै छ । सहज होला ।’
चीनसँग तेल आपूर्ति गरेका विषयमा व्याङ्ग्य गर्दै अभिव्यक्ति दिनुभएका तराई मधेस लोकतान्त्रिक पार्टीका सहअध्यक्ष त्रिपाठीले सरकार गैर जिम्मेवार रहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री केपी ओलीका अभिव्यक्तिले वार्ताको प्रक्रिया सक्किएको आरोप पनि उहाँले लगाउनुभयो ।
‘ओलीजी उखान टुक्काले चर्चामा आउनु भएको हो’, उहाँले भन्नुभयो, ‘राजनीतिक रुपमा समस्या समाधान गर्नुभन्दा पनि थारु र मधेसीलाई चिड्याउने काम भइरहेको छ ।’












प्रतिक्रिया