ललितपुर, २० कात्तिक । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री विजयकुमार गच्छदारले मधेसी मोर्चाले उठाएका अधिकांश मागप्रति सरकार सकारात्मक भएकाले चाँडो त्यस विषयमा निर्णय हुने बताउनुभएको छ ।
मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)को सातौँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित बृहत् रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मधेसी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्ने लगायतका विषयमा सरकार सकारात्मक भएको बताउनुभयो ।
उहाँले मृतकका परिवारलाई रु १० लाख क्षतिपूर्ति उपलब्ध गराउने, आन्दोलनका घाइतेको निःशुल्क उपचारको व्यवस्था मिलाउने र उनीहरुका मुद्दा फिर्ता लिने विषयलाई राज्यले सम्बोधन गर्ने उल्लेख गर्नुभयो ।
त्यसैगरी, उपप्रधानमन्त्री गच्छदारले थारू तथा मधेसी मोर्चाले माग गरेको प्रदेशको सङ्ख्या र जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्रको निर्धारणका विषयमा पनि संविधान संशोधन गरेर सम्बोधन गरिने बताउनुभयो ।
सरकार र मोर्चाबीचको वार्ता सकारात्मक हुँदै गएको अवस्थामा वीरगन्जमा घटेका घटनापछि बिनानिष्कर्ष टुङ्गिएको उल्लेख गर्दै उपप्रधानमन्त्री गच्छदारले वर्तमान अवस्थामा सकारात्मक तवरले समाधानको बाटो खोजिने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री रामजनम चौधरीको पनि सहभागिता थियो । कार्यक्रममा मधेसी विद्यार्थी फोरम नेपाल (लोकतान्त्रिक)का अध्यक्ष कपिलेश्वर यादवले कार्यक्रमपछि सङ्कलित रगतले स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । रासस












प्रतिक्रिया