काठमाडौं, २० कात्तिक । भारतले नेपालमा देखिएको राजनीतिक समस्याको ‘राजनीतिक समाधान’ देखा नपरिउन्जेल सहज रुपमा ढुवानी तथा आपूर्तिको प्रक्रिया अघि बढ्न नसक्ने धारणा दोहोर्याएको छ ।
‘नेपालमा उब्जिएको समस्या राजनीतिक हो र, यसको समाधान राजनीतिक रुपमै मात्र हुन सक्छ । नेपालमा यो समस्या सुरु भएको पहिलो दिनदेखि हामी राजनीतिक समाधान पर्खिरहेका छौं’, विदेश मन्त्रालयको नियमित ब्रिफिङमा बिहीबार प्रवक्ता विकास स्वरुपले भने, ‘द्वैदेशीय सीमावर्ती नाकामा मधेसी समुदायले पुर्याएको बाधा र अवरोध रहुञ्जेल ढुवानी तथा पारवहनको समस्या सुल्झने स्थिति छैन ।’
भारतले नेपालमाथि कुनै प्रकारको नाकाबन्दी नगरेको पुरानै अडान राख्दै प्रवक्ताले यो मामला जेनेभास्थित राष्ट्रसंघीय मानवअधिकार उच्चायोगमा बहसमा आउनुलाई ‘स्वभाविक’ भनेर टिप्पणी गरे ।
‘यो नेपाल–भारतको द्वैपक्षीय विषय अन्तर्राष्ष्ट्रियकरण भएको होइन, राष्ट्रसंघीय मानव अधिकार आयोगको सदस्य भएका कारण स्वभावत सुझाव र सल्लाह दिने क्रममा यो विषय उठेको हो,’ उनले भने, ‘मानव अधिकारको आद्यवाधिक समीक्षा गर्ने क्रमको ‘सुझाव’ मात्रै सामूमा आएको हो ।’
उनले विगतका नियमित ‘ब्रिफिङ’ झैं नेपाल–भारतका विभिन्न १० व्यापारिक नाकामध्ये ६ नाकामा ६ हजार ९ सय ६ वटा ट्रकरबाहन अड्किएर बसेको तथ्यांक पढेर सुनाएको कान्तिपुर दैनिकले छापेको छ ।















प्रतिक्रिया