६ कार्तिक २०८३, शुक्रबार

ग्यास चाहिए ०१–४२६२५८६ मा फोन गर्नुस्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gass-Nepaliकाठमाडौं, १९ कात्तिक । तपाईं खाली सिलिन्डर बोकेर ग्यासको लाइनमा जान खोज्दै हुनुहुन्छ र ग्यास कहाँ पाइन्छ भन्ने जान्न चाहनुहुन्छ भने आयल निगमले सञ्चालनमा ल्याएको ०१–४२६२५८६ मा फोन गर्नुस् ।

तपाईंको नजिकै कुन डिपोबाट कुन ब्रान्डको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी पाउनुने समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।

आयल निगमका वितरण विभाग निर्देशक मुकुन्द घिमिरेले मुलुकभित्र पसिसकेका ग्यास बुलेटदेखि डिलरमार्फत वितरण हुने सिलिन्डरसम्मको जानकारी दिन ‘कन्ट्रोल रुम’ को व्यवस्था गरिएको बताए ।

सोही कन्ट्रोल रुममा रहेको फोन नम्बरबाट सर्वसाधारणले उपत्यकामा वितरण हुने ग्यासका बारेमा जानकारी लिन सक्ने उनले बताए ।

‘हामीले ग्यास वितरणबारे सर्वसाधारणलाई जानकारी दिन ०१–४२६२५८६ नम्बरको टेलिफोन जडान गरेका छौँ । सो नम्बरमा सर्वसाधारणले फोन गरे कुन–कुन डिलरमा कुन कम्पनीको ग्यास वितरण भइरहेको छ भन्ने जानकारी दिनेछौँ,’ निर्देशक घिमिरेले भने ।

कन्ट्रोल रुममा विवरण संकलन गर्न उद्योगी र विक्रेताले पनि सघाइरहेका छन् ।

भारतको नाकाबन्दीपछि गत शुक्रबारबाट मात्रै मागभन्दा अन्यन्त कम परिमाणमा ग्यास आइरहेका छन् ।

उपत्यकामा दैनिक ३० बुलेट (३७ हजार ५ सय सिलिन्डर) माग भए पनि हाल औसतमा दैनिक ५ बुलेट (६ हजार २ सय ५० सिलिन्डर) मात्रै आयात भइरहेको निगमले जनाएको छ ।

काठमाडौं भित्रिएकै ग्याससमेत उद्योगीले होटेल, रेस्टुरेन्ट र नेताका घरमा पुर्‍याउँदा सर्वसाधारणले पाउन सकेका छैनन् ।

बिहीबारबाट राजधानीका लागि ग्यास भित्रिए पनि उद्योगीले उद्योग परिसर र गोदामबाट ग्यास बिक्री गरेपछि सर्वसाधारणले सास्ती खेपेका थिए ।

उद्योग परिसरमा टाढा–टाढाबाट ग्यास लिन उपभोक्ता पुग्न थालेपछि सरकारले सोमबार डिलर (पसल) मार्फत नै ग्यास बिक्री गर्न कडाइ गरेको छ ।

त्यसपछि डिलरलाई ग्यास उपलब्ध गराउन राजी भएका उद्योगीकै सहयोगमा निगमले कन्ट्रोल रुम राखेको थियो ।

सो कन्ट्रोल रुममा उद्योगीले कुन–कुन कम्पनीका ग्यास आए र कति सिलिन्डर भरेर कुन–कुन डिलरमा पठाइएको छ भनेर डिलरको नाम र स्थानसहितको विवरण निगमलाई पठाउन थालेका छन् ।

सर्वसाधारणले ग्यासबारे जिज्ञासा राखे निगमले उद्योगीबाट प्राप्त गरेको विवरण जानकारी गराइदिनेछन् ।

उपभोक्ताले कहाँबाट फोन गरेको हो त्यसबारे जानकारी गराएपछि निगमले सो क्षेत्रबाट नजिक कहाँनेर कुन कम्पनीको ग्यास सिलिन्डर बिक्री भइरहेको छ भन्ने जानकारी गराउँछ ।