६ कार्तिक २०८३, शुक्रबार

म्याच फिक्सिङका अभियुक्तलाई जोगाउन अनेक चलखेल, को–को सक्रिय छन् ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepalyer Mach Fixingकाठमाडौं, १९ कात्तिक । नेपाल प्रहरीको इतिहासमै महानगरीय अपराध महाशाखाले म्याच फिक्सिङ जस्तो संगठित अपराधको पहिलो पटक पर्दाफास गरेको छ ।

नेपाली फुटबलले सधैं किन अन्तराष्ट्रिय खेलहरु हार्छ भन्ने कुरा महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बाहिर ल्याएको यूनाइटेड पोष्ट साप्ताहिकले छापेको छ ।

नेपाल प्रहरीको यो ऐतिहासिक कामको सर्वत्र प्रशंसा भइरहेको छ । तर म्याच फिक्सिङमा पक्राउ परेका खेलाडीहरुलाई छुटाउनका देशका केही ठूला व्यक्तिहरु समेत लागेका छन् ।

सरकारी वकिल र अदालतमा दबाब दिएर उक्त मुद्दा नै दर्ता नगर्नेसम्मको खेल सुरु भइसकेको छ ।

बरिष्ठ अधिवक्ताद्धय शम्भु थापा र प्रेम बहादुर खड्का अभियुक्तविरुद्ध मुद्दै दर्ता नगर्न चलखेलमा लागेका छन् ।

उनीहरु अभियुक्तका वकिलका रुपमा अदालतमा गएर उनीहरुको पक्षमा बोल्नु त पेशा नै भयो तर उनीहरु मुद्दा दर्ता नगर्न राजनीतिक लबिङमा समेत लागेका छन् ।

त्यस्तै कांग्रेस तथा एमालेका केही नेताहरु समेत अभियुक्त खेलाडीको पक्षमा लागेका छन् । मुद्दा दर्ता नगराउन बरिष्ठ अधिवक्ता थापाले महान्यायधिवक्ता हरिकृष्ण कार्कीलाई दबाब दिएको स्रोत बताउँछ ।

थापा र कार्की दुवै एमाले निकटमा नभई साथी पनि भएकाले सरकारी वकिल कार्यालयबाट नै मुद्दा दर्ता नगराउने र मुद्दा दर्ता गरेपछि राज्यविरुद्धको अपराधको दफा ४ अनुसार चलाउने र सामान्य धरौटीमा नै उनीहरुलाई छुटाउने खेल भइरहेको छ ।

त्यस्तै आफुसमेत तानिन सक्ने भएकाले एन्फा अध्यक्ष गणेश थापा पनि अनुसन्धान प्रभावित बनाउन सक्रिय छन् । कतिपय खेलमा फिक्सिङकै लागि तय भएको समेत खुलेको छ ।

त्यसरी अन्तर्राष्ट्रिय प्रतियोगिताहरु राख्दा एन्फाको प्रत्यक्ष संलग्नता हुन्छ । त्यसकारण यो प्रकरणमा थापा पनि मुछिने भएकाले उनी यसविरुद्ध लागेका हुन् ।

म्याच फिक्सिङको आरोपमा पक्राउ परेका चार खेलाडी र एक प्रशिक्षकलाई प्रहरीले राज्यविरुद्धको अपराध मुद्दामा मुद्दा दायरको अन्तिम तयारी गरेको छ । पक्राउ परेको २४ दिनभित्र मुद्दा दायर गर्नुपर्छ ।

उनीहरु पक्राउ परेको २१ दिन भइसकेको छ । राष्ट्रिय टोलीका कप्ता सागर थापासहित राष्ट्रिय टोलीका गोलरक्षक रितेश थापा, राष्टिय्र खेलाडी सन्दीप राई, पूर्व राष्ट्रिय खेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको हो ।

प्रहरीसँग बलियो प्रमाण

छोटो अवधिमा भएपनि प्रहरी अभियुक्तहरुविरुद्ध बलियो प्रमाण जम्मा गरिसकेको छ । म्याच फिक्सिङ प्रकरणमा प्रहरीको बलियो प्रमाण भनेको खेलाडीको म्याच फिक्सरहरुबाट लिएको पैसा नै हो ।

खेलाडीको नाममा बिदेशबाट पटक पटक पैसा आएको छ । वेष्टन यूनियन मनि ट्रान्सफरबाट अञ्जन केसी, रितेश थापा तथा हाल फरार रहेका तत्कालिन फिजियो डेजिब थापाको नाममा पैसा आएको छ ।

सिंगापु्रका चर्चित म्याच फिक्सर विल्सनराज पेरुमलले आफ्नो पुस्तक ‘किलोङ किङस्’ मा कसरी नेपाली खेलाडी किन्न सफल भए भन्ने कुरा उल्लेख गरेका छन् । उनकै समूहबाट खेलाडीले पैसा लिएका छन् ।

बयानको क्रममा पैसा लिएको उनीहरुले स्वीकार गरेका छन्, तर म्याच फिक्सिङ गरेको भने अस्वीकार गरेका छन् । तर, पक्राउ परेलगत्तैको बयानमा उनीहरुले म्याच फिक्सिङकै पैसा लिएको स्वीकारेका थिए ।

जसको भिडियो रेकर्ड प्रहरीसँग छ । हालसम्मको अनुसन्धानमा ६ वटा अन्तराष्ट्रिय खेलमा उनीहरुले म्याच फिक्सिङ गरेको प्रहरी दाबी छ । जसमा खेलाडीले एउटा खेलबाट ५ हजार अमेरिकन डलरसम्म लिएका थिए ।

सन् २००८ देखि गत वर्ष सम्मका खेलमा म्याच फिक्सिङ भएको अपराध महाशाखाले जनाएको छ ।

सन् २००८ मा मोर्डेका कपमा अफगानिस्तानसँग म्याच फिक्सरको निर्देशनअनुसार २–२ को बराबरी खेलेको प्रहरी दाबी छ ।

त्यस्तै २००९ को साग च्यामपियनसीप, सन् २०११ म मलेसियासँगको मैत्रीपूर्ण खेल, फिलिपिन्ससँगको मैत्रीपूर्ण खेल, सन् २०१२ मा भारतसँग भएको नेहरु कप र सन् २०१४ मा कोरियामा भएको साफ गेमको फुटबलमा म्याच फिक्सिङ गरेको प्रहरीले जनाएको छ ।

जसमा अन्य खेलाडी र एन्फा पदाधिकारीहरु समेत संलग्न भएपनि अरु भने पक्राउ परेका छैनन् । सबै खेलमा थ्रिस्टार क्लबका पूर्वप्रशिक्षक रहेका अन्जन केसीले नै पैसाको डिल गर्दै आएको प्रहरी अधिकारीहरु बताउँछन् ।