काठमाडौँ, १८ कात्तिक । एमालेमा हालै रिक्त हुन गएका महत्वपूर्ण तीन पद तत्काल पूर्ति नहुने भएका छन् । पार्टीमा उपाध्यक्ष रहेकी नेतृ विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि नेकपा(एमाले)मा एकैपटक महत्वपूर्ण तीन पद रिक्त भएका हुन् । राष्ट्रपतिमा निर्वाचित भएपछि पार्टीमा आबद्ध हुन नपाउने भएकाले भण्डारीले सम्हाल्दै आएका पदहरूमा नयाँ व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने हुन्छ । एमाले उपाध्यक्ष, सांसद र अनेमसंघको अध्यक्ष रहेकी भण्डारीले पार्टीका सबै पदहरूबाट २०७२ कात्तिक १२ गते राजीनामा दिइसकेकी छिन् ।
भण्डारी समानुपातिक तर्फबाट सांसद समेत थिइन । अहिले उक्त पद पनि खाली भएको छ । नयाँ संविधान २०७२ अनुसार त्यसरी रिक्त भएको पदमा पुन: मनोनयन गर्न नपाइने व्यवस्था छ । त्यसकारण एमालेको भागको सांसदको एक पद रिक्त नै रहने छ । त्यस्तै पार्टीको उपाध्यक्ष पद पनि रिक्त भएको छ । उपाध्यक्षका लागि निवर्तमान सभामुख सुवास नेम्वाङ्ग लगायतका पार्टीका नेताहरू लबिङमा लागिसकेको भएतापनि एमालेको ‘‘विधान २०४९(संशोधित २०७१) को धारा ६५ को ५, ६ र ७ बमोजिम केन्द्रीय कमिटीका पदाधिकारीहरूको पदपूर्ति राष्ट्रिय प्रतिनिधि परिषद्ले केन्द्रीय कमिटीका अन्य पदाधिकारी, सदस्य वा राष्ट्रि्रय प्रतिनिधि परिषद् सदस्यहरूमध्येबाट गर्नेछ ।’’ भन्ने ब्यवस्था गरेको छ । सुवास नेम्वाङ्ग हाल नेकपा एमालेको संगठित सदस्य बाहेक विधानले गरेको ब्यवस्था अनुसारको केन्द्रीय सदस्यको पदमा नरहेको र हालसम्म राष्ट्रिय प्रतिनिधि परिषद् पनि गठन नभएकाले तत्काल एमाले केन्द्रीय कमिटीको पदाधिकारीमा नेम्वाङ्गको मनोनयन हुने अवस्था रहेको छैन ।
अहिलेसम्म एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् गठन हुन सकेको छैन । २०७१ असार १९ गतेबाट सुरु भएर सोही महिनाको मसान्तसम्म चलेको थियो एमाले नवौ महाधिवेशन सम्पन्न भएको र २०७१ साउन १ गते केपी ओलीले अध्यक्षको पदभार ग्रहण गरेको पनि डेढ वर्ष हुन लाग्यो । एमालेको नवांै महाधिवेशन सम्पन्न भएको अहिले २०७२ कात्तिकमा १६ महिना पूरा हुँदैछ । एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् हालसम्म पनि नबनेकाले रिक्त पदाधिकारीहरूको पदपूर्ति हुने अन्य वैधानिक ब्यवस्था छैन । एमाले पार्टीले विधानले गरेको ब्यवस्था अनुसार पार्टीलाई पूर्णता नदिएकाले पार्टीमा हाल रिक्त महत्वपूर्ण पदहरू तत्काल पूर्ति हुने सम्भावना पनि छैन । त्यसैले सुवास नेम्वाङ्ग न पार्टी न सरकारमा भएका छन् । साँघु साप्ताहिकमा खबर छ ।
















प्रतिक्रिया