काठमाडाैं । काठमाडौंस्थित भारतीय दूतावासले विनाविभागीय मन्त्री सत्यनारायण मण्डललाई सम्बोधन गर्दै भारतविरोधी अभिव्यक्ति नदिन चेतावनी दिएको छ ।
मन्त्री मण्डलले सोमबार विराटनगरमा प्रेस चौतारीद्वारा आयोजित कार्यक्रममा भारतले नेपालमा औपनिवेशिक शैलीको हस्तक्षेप गरेको र विनाबर्दीका सैनिक पठाउन लागेको अभिव्यक्ति दिएका थिए । त्यसबारे मंगलबार भारतीय दूतावासले वक्तव्य जारी गरी मन्त्री मण्डलको अभिव्यक्तिको भत्र्सना गरेको छ ।
‘दूतावास यस्ता धारणाको जोडदार भत्र्सना गर्छ, साथै सम्पूर्ण जिम्मेवार व्यक्तिलाई नेपाल र भारतबीचको वर्षौं पुरानो सम्बन्धमा खलल पार्ने कुनै पनि काम नगर्न तथा अभिव्यक्ति नदिन अनुरोध गर्छ,’ मण्डललाई लक्षित गर्दै दूतावासको विज्ञप्तिमा उल्लेख छ । दूतावासले मण्डलबाहेक अरू क–कसलाई सम्बोधन गर्न खोजेको हो, विज्ञप्ति स्पष्ट छैन । मण्डल एमाले स्थायी कमिटी सदस्यसमेत हुन् ।
मण्डलको भनाई जस्तो तस्तै:
मैले विराटनगरमा जे बोलेँ, केही मिडियाले बंग्याएर प्रकाशन–प्रसारण गरे । त्यसैलाई आधार मानेर भारतीय दूतावासले मविरुद्ध विज्ञप्ति निकालेको छ । त्यो विज्ञप्तिको भाषाप्रति मेरो टिप्पणी छैन । म पार्टीमा छलफल गर्छु किनभने मलाई पार्टीले मन्त्री बनाएको हो । त्यसपछि म विस्तृत प्रतिक्रिया दिन्छु ।
मैले विराटनगरमा भनेको थिएँ कि नेपालमा विदेशीहरूको अवाञ्छित गतिविधि बढेको छ । साम्राज्यवादी शक्तिहरूले विगतमा जस्तो प्रत्यक्ष सेना पठाउने अवस्था छैन । तर, आर्थिक क्रियाकलाप वाञ्छित र अवाञ्छित दुवै भइरहेको छ । आर्थिक क्रियाकलाप अवाञ्छित पनि हुन्छ, त्यो भनेको विनाबर्दीको सेनाजस्तो हो । यो नवऔपनिवेशिक नीति हो भनेको थिएँ, मैले भारतको नाम लिएकै थिइनँ ।
पत्रकारले नाकाबन्दीबारे के भन्नुहुन्छ भनेर सोधेका थिए । मैले भनेँ, ‘यो हस्तक्षेप हो, नाकाबन्दी हो ।’ मैले विनाबर्दीको सिपाही भन्ने विषयमा पत्रकारले पनि आशय बुझेनन्, भारतीयले पनि बुझेनन् । भारतले टिप्पणी गर्छ, उसको स्वतन्त्रताको कुरा हो । ठूलो राष्ट्रको दूतावासले त्यही रूपमा बुझ्यो । तर, सत्य कुरा त्यो होइन र थिएन । मलाई पनि कति धम्की आएको छ । मेरा बालबच्चालाई धम्की आएको छ । मधेसबाटै धम्की आएको छ । म सुरक्षित छैन ।
अहिले एउटा सार्वभौम मुलुकको मन्त्रीमाथि जसरी टिप्पणी भएको छ, यसबारे के भन्ने रु भारत भन्ने देश जन्मिनुभन्दा अगाडि नै हाम्रोबीचमा रोटी–बेटीको सम्बन्ध हो । देशभन्दा पुरानो हो सम्बन्ध । मैले नेपालीको हित र नेपाल राष्ट्रका पक्षमा बोलेको हुँ । कुनै छिमेकीविरुद्ध बोलेको होइन । मसँग भारतीयले केही कुरा गरेका छैनन् । मैले उनीहरूको टिप्पणी मिडियामार्फत थाहा पाएँ । आजको नयाँ पत्रिकामा खबर छ ।















प्रतिक्रिया