काठमाडौं, १६ कात्तिक भारतीय भूमि र दसगजाबाट नेपालका सुरक्षाकर्मीमाथि आक्रमण भएपछि जबाफी कारबाहीमा एकजना भारतीय नागरिकको मृत्युबाट उत्पन्न परिस्थितिबारे नेपाल र भारतका प्रधानमन्त्रीबीच सोमबार साँझ टेलिफोन वार्ता भएको छ ।
प्रधानमन्त्री केपी ओलीले वीरगन्जमा प्रदर्शनकारीबाट सुरक्षाकर्मीमाथि पेट्रोल बम प्रहार भएपछि आत्मरक्षाका लागि गोली चलाउँदा भारतीय नागरिकको मृत्यु भएको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गराएका थिए । सोमबार साँझ एमाले स्थायी स्थायी समितिको बैठक चलिरहेका बेला भारतीय प्रधानमन्त्रीको फोन आएको थियो ।
प्रधानमन्त्री ओलीले नाकाबन्दी हटाएर दुई देशबीचको अवस्था सहज पार्न पनि मोदीलाई आग्रह गरे । एमाले महासचिव ईश्वर पोख्रेलका अनुसार स्वाधीनता र स्वतन्त्रतापूर्वक निर्णय गर्न पाउने कुरामा नेपालका दल सचेत रहेको बताउँदै ओलीले नाकाबन्दी अन्त्य गर्न जोड दिएका थिए ।
ओलीले भारतीय नाकाबन्दीका कारण नेपालले पारवहन अधिकारको उपभोग गर्न नपाएको बारेमा मोदीको ध्यानाकर्षण गराएका थिए । जवाफमा मोदीले नेपालको पारवहन अधिकारप्रति भारत सचेत रहेको तर अहिले नेपालको आन्तरिक समस्या रहेको जिकिर गरेका थिए ।
सो क्रममा प्रधानमन्त्री ओलीले नेपाललाई झुकाउने खालको कुरा स्वीकार्य नहुने जवाफ घुमाउरो पारामा मोदीलाई दिएको स्रोतले जनाएको छ । भारतीय विदेश मन्त्रालयले वीरगन्जमा आफ्ना नागरिक मारिएकोमा चासो देखाउँदै वक्तव्य निकालेलगत्तै प्रधानमन्त्री ओलीले मोदीसँग टेलिफोन वार्ताको प्रयास गरेका थिए ।
पछि मोदीले कलब्याक गरेको बालुवाटार स्रोतले बतायो । प्रधानमन्त्री ओलीले सोमबार बिहान वीरगन्जस्थित नेपाल भारत सीमाको मितेरी पुलमा धर्ना दिइरहेका आन्दोलनकारीलाई शान्तिपूर्ण रूपमा हटाइएको जानकारी पनि मोदीलाई दिएको एमाले पार्टी सचिव योगेश भट्टराईले बताए ।
‘प्रदर्शनका क्रमममा आन्दोलनकारीले प्रहरी कार्यालय तथा अन्य सरकारी कार्यालयमा ढुंगा बर्साउँदै आक्रमण गर्न थालेपछि बाध्य भएर प्रहरीले आन्दोलनकारीमाथि गोली चलाउँदा एक आन्दोलनकारीको मृत्यु भएको जानकारी गराउनुभयो । पछि बुझ्दा उनी भारतीय नागरिक भएको खुल्न आएको मोदीसमक्ष बताउनुभयो’, भट्टराई बैठकपछि पार्टी मुख्यालयमा पत्रकारहरूलाई भने ।
२५ मिनेट भएको वार्तामा मोदीले वीरगन्ज घटनाको यथाशीघ्र अनुसन्धान गर्न आग्रह गरेका थिए । ‘मधेसको समस्या नेपालको आन्तरिक समस्या हो । नेपालले नै समस्या हल गर्नुपर्छ । तर हामी समस्या हल गर्न सहयोग पुर्याउन तयार छौुं, मोदीलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले भने ।
उनका अनुसार प्रधानमन्त्री ओलीले नेपाल र भारतबीच सम्बन्ध बिग्रनु दुवै देशको हितमा नरहेको समेत मोदीलाई बताए । प्रधानमन्त्री नियुक्त भएपछि ओलीलाई मोदीले दोस्रोपटक फोन गरेका हुन् । यसअघि मोदीले प्रधानमन्त्री निर्वाचत भएकै दिन ओलीलाई टेलिफोन गरी बधाई दिएका थिए ।
यसैबीच परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै नेपाली सुरक्षाकर्मीमाथि भारतीय भूमिबाट आक्रमण गर्ने काम भएकाले स्थिति नियन्त्रणमा लिने क्रममा एकजना भारतीय नागरिकको मृत्यु भएको बताएको छ । उसले धर्नाकारी पाँचजना पक्राउ गर्दासमेत दुईजना भारतीय नागरिक परेको, भारतीय भूमिबाट एक हुल भीड आन्दोलित हुँदै नेपाल आएको र सुरक्षाकर्मीमाथि बमसमेत प्रहार गरेको उल्लेख गरेको छ ।
विज्ञप्तिमा मृतक व्यक्ति आक्रमणमा संलग्न व्यक्ति नै भएको किटान गरिएको छ । तर यसअघि भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरूपले आन्दोलनकारीलाई उकास्दै सोमबार दिउँसै मृतकलाई निर्दोष भारतीय भन्दै वक्तव्य जारी गरेका थिए ।
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग भारतीय विदेश मन्त्रालयले सोमबारै वीरगन्ज घटनाबारे स्पष्टीकरण लिएको छ ।अन्नपूर्ण पोष्टमा समाचार छ ।















प्रतिक्रिया