काठमाडौँ, १६ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो अधिकारका लागि सङ्घर्ष गर्दा अर्काको अधिकार हनन् नहुनेतर्फ ख्याल गर्न आन्दोलनरत दलहरुलाई सुझाव दिनुभएको छ ।
राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानसभाले बनाएको नेपालको संविधान लोकतान्त्रिक र सबैको भावनालाई सम्बोधन गर्ने भएकाले आन्दोलन र असन्तुष्टिको जरुरत नरहेको बताउनुभयो ।
केही विषयमा असन्तुष्टि व्यक्त गर्दै आएका दल तथा समूहको माग वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकार तयार रहेको भन्दै प्रधानमन्त्री ओलीले विश्वका ठूला–ठूला समस्यासमेत संवादमार्फत समाधान भएकाले सार्थक वार्तामा बस्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो– ‘नेपालको संविधानलाई सबै वर्ग तथा क्षेत्रले अपनत्व महसुस गर्ने खालको छ, सबैको भावनालाई त्यसले सम्बोधन गरेको छ । केही समस्या बाँकी रहेको भए त्यसलाई पनि सम्बोधन गर्न सकिन्छ तर आन्दोलनको नाममा आम जनताको हक र अधिकारलाई खण्डित गर्ने काम कोही कसैबाट हुनुहुँदैन ।’












प्रतिक्रिया