मुस्ताङ, १६ कात्तिक । नेपालीहरुको महान पर्व दशैंलाई लक्षित गरेर हिमालपारीको जिल्ला मुस्ताङबाट १५ हजार भन्दा बढि भेडाच्याङ्ग्राको निर्यात भएको छ । भेडाच्याङग्राको विक्रि संगै जिल्लाका किसानले २७ करोड भन्दा बढिको आम्दानी गरेका छन् ।
पशुसेवा कार्यालयका अनुसार यस वर्ष जिल्ला बाट पन्ध्रहजार तीन सय आठ भेडाच्याङग्राको निर्यात भएको हो । किसानले प्रतिगोटा १८ देखि २० हजार रुपैयाँमा भेडाच्याङग्रा बिक्री गरेका छन् । चार वर्ष उमेर पुगेर बेच्ने अवस्थामा रहेका सो परिमाणका भेडाच्याङग्रा बिक्रि भएको जिल्ला पशुसेवा कार्यालय मुस्ताङका प्रमुख डा.नन्दलाल बर्माले बताए ।
बजारमा हिमाली उच्च चरन क्षेत्रका भेडाच्याङग्राको माग अत्याधिक हुने गरेकोले व्यापारीहरुले किसानको गोठमा पुगेर भेडाच्याङग्रा खरिद गरेका हुन् । दशैँतिहारमा अत्याधिक माग हुने मुस्ताङमा पालेका भेडाच्यङग्रा किनबेचको सिजन सुरु भए पछि किसान र व्यापारीले पनि उत्साहित रुपमा भेडाच्याङग्रा किनबेच गरेका थिए ।
गत वर्ष १९ हजार भन्दा बढि भेडाच्याङग्रा निर्यात भएको यस जिल्लाबाट यस वर्ष भने निर्यातमा कमि आएको छ । भेडाच्याङग्रा बस्ने खोर व्यवस्थित नहुँदा गत वर्ष असोजको अन्तिम साता आएको हुदहुद आँधीका कारण अधिकांश भेडाच्याङग्रा कठ्याङग्रियर मरेको र भारतको अघोषित नाकाबन्दीले इन्धन अभाव भई पूर्ण रुपमा यातयात संचालनमा नआउदा निर्यात घटेको पशुसेवा कार्यालयका प्रमुख डा. बर्माको भनाई छ ।
मुस्ताङको १६ गाविस मध्ये जोमसोम, मार्फा, कागवेनी, झोङ, मुक्तिनाथ, छुसाङ, सुर्खाङ, चराङ, लोमान्थाङ, छोसेर, छोन्हुप गाविसका करिब दुई सय किसानले व्यवसायीक रुपमा भेडाच्याङग्रा पाल्दै आएका छन् । मुस्ताङमा उत्पादित भेडाच्याङग्राले बजारको माग थेग्न नसक्ने भएपछि दुई देश विच हुने व्यापार मेलाको अवसरमा यहाँका किसानले तिब्बतबाट भेडाच्याङग्रा खरिद गरी आफ्ना भेडाच्याङग्राको बथानमा मिसाई दशैँ तिहारलाई लक्षित गरेर बजारमा पु¥याउने गरेका छन् ।
उपल्लो मुस्ताङका घमी, लोमान्थाङ, चराङ, सुर्खाङ, छोसेर र छोन्हुपका व्यापारीले भेडाच्याङग्रा ल्याएर बेच्छन् । उपल्लो मुस्ताङका किसानले तिब्बतको ढोङवासेनबाट भेडाच्याङग्रा ल्याउँछन् । बजारमा हिमाली उच्च चरन क्षेत्रका भेडाच्यांग्राको माग हुने भएकोले मुस्ताङीले तिब्बतबाट ल्याएका भेडाच्याङग्रा मिसाएर बेच्ने गर्छन् ।
मुस्ताङमा उत्पादन भएका भेडाच्याङग्रा व्यापारीले खरिद गरेर बिक्रीको लागि म्याग्दी, बागलुङ, पर्वत, पोखरा, काठमाण्डौ, बुटवल लैजान्छन् । केही किसानले आँफै म्याग्दी, बागलुङ, पर्वत, पोखराका बजारमा लगेर बेच्ने गरेका छन् । मुस्ताङबाट गत वर्ष १९ हजार ५ सय भेडाच्यांग्रा निर्यात भएको जिल्ला पशु सेवा कार्यालय, मुस्ताङले जनाएको छ । मुस्ताङका किसानले गत वर्ष १९ हजार ५ सय भेडाच्याङग्रा बेचेर करिब ३१ करोड कमाएका थिए । किसानले भेडाच्याङग्राबाट मनग्य आम्दानी गर्ने गरेका छन् ।
तल्लो मुस्ताङको लेते, कुञ्जो, कागवेनी उपल्लो मुस्ताङका छोन्हुप, छोसेर, लोमान्थाङ गाविसमा समुह बनाएर व्यवसायीक रुपमा भेडाच्याङग्रा पालेर लाखौँ आम्दानी गरेका छन् । यहाँबाट निकासी हुने भेडाच्याङग्राको अनिवार्य स्वास्थ्य जाँच गरेर पठाएको पुशसेवा कार्यालयका प्रमुख डा. बर्माले बताए । पशु कार्यालयले स्वास्थ्य परिक्षणको लागि घाँसामा चेकपोष्ट राख्ने गरेको छ । नेपाल खाद्य संस्थानले यस वर्ष मुस्ताङबाट सात सय भेडाच्याङग्रा काठमाण्डौ लगेर विक्री गरेको छ ।
– केशव बिश्वकर्माबाट















प्रतिक्रिया