१ कार्तिक २०८३, शनिबार

दूध चिस्याउने केन्द्र स्थापना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Milk Mahilaइलाम, १६ कात्तिक । दूध उत्पादनका लागि जिल्लाकै अग्रणी गाविसका रूपमा चिनिएको लक्ष्मीपुरका किसानको सक्रियतामा दूध चिस्याउने केन्द्र(चिलिङभ्याट) स्थापना गरिएको छ । स्थानीय कृषकको निजी लगानीमा एक हजार लिटर क्षमताको चिलिङभ्याट स्थापना गरिएको हो ।

स्थानीय कृषकले रु छ लाख ५० हजारको लगानीमा लक्ष्मीपुर–९ सुकेपोखरीमा चिलिङभ्याट स्थापना गरेको अगुवा कृषक तेजप्रसाद भट्टराईले जानकारी दिनुभयो । दुग्ध विकास संस्थानले भारतको अघोषित नाकाबन्दीका कारण देखाउँदै हप्ताको चार दिन मिल्क होलिडे गरेपछि किसानकै अगुवाइमा चिलिङभ्याट स्थापना गरिएको उहाँले बताउनुभयो ।

चिलिङभ्याट स्थापना गरेपछि किसानले दूध ल्याउन थालेका छन् । ‘संस्थानले दूध खरिद नगरेको बेला चिलिङभ्याटमा दूध सङ्कलन गरिन्छ, लक्ष्मीपुरका अर्का किसान दीननाथ मिश्रले भन्नुभयो – “दुग्ध विकास संस्थानको किसानमाथिको मनोमानी तोड्नका लागि पनि चिलिङभ्याट स्थापना गर्नुपरेको हो ।” संस्थानले भारतीय पाउडर खरिद गरेर मिल्क होलिडे गरिरहेको किसानको आरोप छ ।

यहाँ ११ वटा निजी गाईफार्म छन् । किसानले लाखौँको लगानीमा गाईपालन गरे पनि उत्पादित दूध बिक्री नहुँदा लगानी डुब्ने खतराका कारण चिन्तित बनेका छन् । यहाँ दैनिक चार हजार लिटर दूध उत्पादन हुँदै आएको छ ।

दुग्ध विकास संस्थानले लक्ष्मीपुरमा चिस्यान केन्द्रसमेत स्थापना गरेको छ । उक्त चिस्यान केन्द्रमा दैनिक तीन हजार पाँच सय लिटर दूध सङ्कलन हुने गरेको छ । तर हप्ताको चार दिन मिल्क होलिडे गरेका कारण किसानले चिलिङभ्याटमा दूध सङ्कलन गर्न थालेका छन् ।

किसानले भारतको पोख्रेबुङबाट उन्नत जातका गाई खरिद गरेर ल्याएका छन् ।

चिलिङभ्याट खरिदका लागि जिल्ला पशुसेवा कार्यालयले अनुदान दिँदै आएकामा यसवर्ष अनुदान रकम कटौती भएको कार्यालयका सूचना अधिकारी ध्रुवकुमार यादवले बताउनुभयो ।

उहाँका अनुसार संस्थानले हप्ताको बिहीबार, शुक्रबार, शनिबार र आइतबार मिल्क होलिडे गर्दै आएको छ ।

चिलिङभ्याटमा दूध राख्दा दूधको गुणस्तर नबिग्रने, दूधको शुद्धता कायम हुनेलगायतका विभिन्न फाइदा हुने उहाँको भनाइ छ । पशुसेवा कार्यालयका अनुसार जिल्लामा करिब १० वटा चिलिङभ्याट स्थापना भइसकेका छन् । रासस