काठमाडौं, १४ कात्तिक । मागभन्दा निक्कै थोरै ग्यास राजधानीमा वितरण सुरु गरेपछि सरकारलाई थोगिनसक्नुको समस्या आइपरेको छ ।
आज (शनिबार) बिहानबाट ग्यास बिक्री बितरण हुने समाचार सुनेका र पढेका उपभोक्ताहरू तीन दिनदेखि लाइनमा बसेका छन् ।
तर उपभोक्ताको मागभन्दा निक्कै कम ग्यास वितरणको तयारी भएपछि ग्यास उद्योगहरूले भरिएका सिलिण्डर बाहिर निकाल्न सकेका छैनन् ।
नेपाल ग्यास उद्योग संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मागभन्दा निक्कै कम ग्यास बिक्री वितरण हुन थालेकाले सबै उपभोक्ताको माग धान्न नसकिने बताउनुभएको छ ।
अध्यक्ष घिमिरेका अनुसार राजधानीमा आज एभरेष्ट र नेपाल ग्यासले मात्रै बिक्री वितरण गर्ने छन् । दुबै कम्पनीको गरेर करिव ४४ हजार सिलिण्डर ग्यास बिक्री वितरण हुने उहाँले बताउनुभयो । उपभोक्ताले आधा भरिएको सिलिन्डर सात सय रुपियाँमा पाउने छन् ।
‘आधा भरिएको सिलिण्डर दुई वटा कम्पनीले उपभोक्तालाई दिने तयारी भएको छ’, अध्यक्ष घिमिरेले भन्नुभयो, ‘भरिएका ग्यासका सिलिण्डर उद्योगबाट बाहिर निकाल्न सकिएको छैन । हज्जारौँ सर्वसाधारण उद्योग बाहिर मुल गेटमा लाइन बस्नु भएको छ ।’
ग्यास वितरणमा समस्या देखिएपछि ग्यास उद्योग कम्पनीहरूले प्रहरी प्रशासनको सहयोग माग गरेका छन् । प्रहरी सुरक्षामा ग्यास वितरण हुनेछ ।
एभरेष्ट ग्यास उद्योग र नेपाल ग्यास उद्योगले तीन÷तीन वटा बुलेट पाएका थिए । उनीहरूले ती बुलेटबाट ट्रन्सफर गरी सिलिन्डरहरूमा भरेका छन् । तर उपभोक्ताको लामो लाइन रहेकाले उद्योगबाट बाहिर निकाल्न सकेका छैनन् ।
एभरेष्ट ग्यासको उद्योग काठमाडौंको चाल्नाखेलमा चार दिनदेखि उपभोक्ताको लामो लाइन रहेको अध्यक्ष घिमिरेले बताउनुभयो । त्यस्तै अवस्था बालाजुमा उद्योग रहेको नेपाल ग्यासको पनि छ ।
उता, साल्ट टे«डिङको एसटिसी ग्यासका सिलिण्डिर अझै राजधानी भित्रिएका छैनन् । चार वटा बुलेट पाएको साल्ट ट्रेडिङले सोमबारसम्म आफ्ना सिलिन्डर राजधानी भित्राउने अध्यक्ष घिमिरेले बताउनुभयो ।












प्रतिक्रिया