काठमाडौं, १३ कात्तिक । सत्तारुढ गठबन्धनले एमाओवादीका पूर्वलडाकू कमान्डर नन्दकिशोर पुन पासाङलाई उपराष्ट्रपतिको साँझा उम्मेदवार बनाएको छ ।
सत्ता गठबन्धका साना दल तथा केही मधेसी नेताको विरोधका बाबजुद शुक्रबार व्यवस्थापिका संसदमा एमाले बरिष्ठ नेता झलनाथ खनालको प्रस्ताव र राप्रपा नेपालका दीलनाथ गिरी र फोरम लोकतान्त्रिकका योगेन्द्र चौधरीको समर्थनमा पासाङ उपराष्ट्रपतिको उम्मेदवार बन्नुभएको हो ।
पासाङको उम्मेदवारी दर्ता कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, एमाओवादी अध्यक्ष प्रचण्डलगायतका नेताहरु संसद भवन पुग्नुभएको थियो ।
यसअघि गठबन्धनमा रहेका केही दलले उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा एमाओवादी नेता पुनबाहेक मधेसी, थारू समुदायबाट कसैलाई उम्मेदवार बनाउनुपर्ने धारणा राखेका थिए ।
तराई मधेसमा आन्दोलन एवम् असन्तुष्टि जारी रहेको बेला सोही समुदायबाटै उपराष्ट्रपति बनाउन सकिए राम्रो हुने भन्दै गठबन्धनमा रहेका दलहरुले पुनभन्दा अर्को व्यक्तिलाई अगाडि सार्न एमाओवादीसँग आग्रह गरेका थिए ।
तर, माओवादीले पासाङ उम्मेद्वार नभए सरकार छाड्ने चेतावनी दिएपछि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पासाङकै नाम अघि सार्नुभएको हो ।
तत्कालीन माओवादीले दश वर्षसम्म सञ्चालन गरेको सशस्त्र सङ्घर्षमा माओवादी सेनाको लडाकु कमान्डर रहनुभएका पुन दोस्रो संविधानसभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं ४ मा नेपाली काँग्रेसका उम्मेदवार गगनकुमार थापासँग पराजित हुनुभएको थियो ।












प्रतिक्रिया