११ कार्तिक २०८३, बुधबार

व्यक्तिगत खर्चमा बालबालिकालाई २८ लाखको खाना

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dal Bhat Nepali Khanaचितवन, १३ कात्तिक । चितवनका एक व्यक्तिले व्यक्तिगत खर्चमा ‘भोकालाई खाना’ अभियान सुरु गरेको दुई वर्षको अवधिमा २८ लाख खर्चेर खाना खुवाएका छन् ।

भरतपुरमा पुस्तक पसल सञ्चालन गर्दै आएका स्थानीय विष्णुप्रसाद पौडेलले सो अभियान थाल्नुभएको हो ।

मुख्य गरी अशक्त, अपाङ्ग, बालबालिका तथा पीडितलाई उहाँले दुई वर्षदेखि खाना र खाजा दिने अभियान चलाउँदै आउनुभएको छ ।

मुलुकका विभिन्न ५४ वटा बजारका ६४ वटा होटलमा त्यस्ता व्यक्तिलाई खाना खुवाउनका लागि सम्झौता भएको र दैनिक करिब ४०० जनालाई खाना खुवाउने गरेको जानकारी पौडेलले दिनुभयो ।

पुस्तक पसलको आम्दानी कटौती गरेर ती होटललाई मासिक रुपमा पैसा तिर्ने र होटलले त्यस्ता व्यक्तिलाई खाना र खाजा खुवाउने गरेको पौडेलको भनाइ छ ।

उहाँले मानव कल्याण समाज गठन गरेरै अभियान थालिएको र अभियानको उद्देश्य नेपालमा कोही पनि भोका नहुन् भन्ने रहेको बताउनुभयो ।

होटलहरुले पनि अभियानमा साथ दिँदै न्यूनतम शुल्क लिने गरेका छन् । यसअघि २० वर्षसम्म कमाएको दुई करोडभन्दा बढी रकम खर्च गर्ने र आगामी दिनमा पनि अभियान जारी राख्ने योजना रहेको उहाँले सुनाउनुभयो ।

चितवनको देवघाटमा जाँदा बूढी आमैले खानेकुरा मागेपछि आफू भोकाहरुप्रति भावुक भएर अभियान थालेको उहाँको भनाइ छ । उहाँको योजनामा परिवारले समेत साथ दिएका छन् ।

नेपालमा कोही भोका हुनु नपरोस् भनेर सरकारी तवरबाट पनि अभियान थाल्नुपर्नेमा उहाँले जोड दिनुभयो । यसअघि २०६० सालमा समेत उहाँले शान्तिका लागि भन्दै नेपालमा पैदलयात्रा गर्नुभएको थियो । रासस