काठमाडौं, ११ कात्तिक । राजनीतिक समीकरणमा आकस्मिक फेरबदल नआए गणतन्त्र नेपालको दोस्रो राष्ट्रपति एमाले नेतृ विद्यादेवी भण्डारी हुने निश्चितप्रायः भएको छ ।
भण्डारीलाई एमाले, एमाओवादी, राप्रपा नेपाल, राप्रपा, फोरम लोकतान्त्रिकसहित साना दलले समर्थन गरेको कान्तिपुर दैनिकले छापेको छ ।
सत्ता गठबन्धनका तर्फबाट एमाले उपाध्यक्ष भण्डारीलाई राष्ट्रपतिको रूपमा अघि सारिएको हो ।
अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रस्थित हलमा बुधबार बिहान ११ बजेदेखि हुने चुनावमा भण्डारीसँग भिड्न कांग्रेसबाट कुलबहादुर गुरुङ मैदानमा छन् ।
भण्डारीको उम्मेदवारीको प्रस्तावक एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल छन् ।
समर्थकमा राप्रपा नेपालका अध्यक्ष कमल थापासहित साना दलका सांसदहरू छन् ।
भण्डारीलाई समर्थन गर्नेहरूमा फोरम लोकतान्त्रिकका सांसद योगेन्द्र चौधरी, मालेका महासचिव सीपी मैनाली, बहुजनशक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा संयुक्तका सांसद जयदेव जोशी, राप्रपाका सांसद दीपक बोहोरा, जनमुक्ति पार्टी लोकतान्त्रिकका शिवलाल थापा, नेपाः राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशी र नेपाल परिवार दलका सांसद एकनाथ ढकाल छन् ।















प्रतिक्रिया