भीमदत्तनगर, १० कात्तिक । दसैं–तिहारका बेला सुदूरपश्चिमका पहाडी जिल्लामा बजार भाउमा वृद्धि भएको छ ।
व्यापारीहरूले भारतको अघोषित नाकाबन्दी र ढुवानी मूल्य बढेको कारण देखाई साविकभन्दा हरेक सामानमा मूल्य वृद्धि गरेको उपभोक्ताले गुनासो गरेका छन् । जिल्ला सदरमुकाम र स्थानीय बजारमा दैनिक उपभोग्यका सामानमा एकाएक मूल्य आकासिएको छ ।
दसैंको मुखमै नाकाबन्दी र ढुवानी असहजतालाई कारण देखाउँदै व्यापारीले बजार मूल्य मनोमानी ढङ्गले बढाएको स्थानीयवासीको दुखेसो छ । बजारमा नुन, तेल, चामल र दाललगायत उपभोग्य सामानको चर्को मूल्य तिरेर उपभोग गर्नु परिरहेको उपभोक्ता बताउँछन् । ‘पहिले कै मूल्य सोचेर पैसा लिएर सामान किन्न आउँदा सामान किन्न पैसा पुगेन,’ बैतडी सदरमुकाम गोठलापानीमा सामान किन्न निस्किएकी गृहणी राधिका ऐरले भन्नुभयो ।
केही व्यापारीले मूल्य वृद्धि भएको कुरा स्वीकार गरेका छन् भने केहीले मूल्य वृद्धि नगरेको दाबी गरेका छन् । उपभोग्य सामानका अलावा फेन्सीलगायत अन्य सामानमा भने खासै असर नपरेको स्थानीय व्यापारीले बताएका छन् । मङ्गलसेनस्थित खेमाज फेन्सी पसलका धनी खेमराज ढुंगानाले आपूmहरू कपडा बिक्री गर्न भ्याइ–नभ्याई भएको बताए ।
खाद्य गुणस्तर र बजार मूल्यबारे सधैँका वर्ष दसैंतिहारलाई मध्यनजर गरी अनुगमन हुने गरेको भए पनि प्रभावकारी ढङ्गबाट अनुगमन हुन नसक्दा अखाद्य वस्तु पनि बिक्री भइरहेको हुनसक्ने खाद्य अधिकारकर्मीहरू बताउँछन् । रासस















प्रतिक्रिया